काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

 

शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङले लगातार दोस्रो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङलाई जित दिलाउन आफिज ओलावालेले निर्णायक गोल गरे ।

 

तर, मनाङले गोल गर्न दोस्रो हाफसम्म कुर्नु परेको थियो । पहिलो हाफमा दुबै टोलीले पाएको केहि मौकालाई सदुपयोग गर्न सकेनन् । सुरुआतबाटै आक्रामक खेलेको मनाङका आफिज ओलावाले तेस्रो मिनेटमा गोलको अवसर खेर फाले । पुजन उपरकोटीको फ्रिकिकमा आफिफको हेडर पोस्ट नजिकबाट बाहिरिएको थियो ।

 

खेलको ४१ औं मिनेटमा कप्तान विश्वास श्रेष्ठको फ्रिकिक क्रस बारमा लागेर फर्किदा हिमालयन शेर्पा अग्रता बनाउन चुकेको थियो । मनाङका एडिलाजा सोमिडेले ५५ औं मिनेटमा गोलको अवसर गुमाए । दयानन्द सिंहको क्रसमा अनमार्क रहेका उनको हेडरले पोस्टको दिशा लिन सकेन ।

 

खेलको ५६ औं मिनेटमा मनाङले विमल रानाले गोल गरेका थिए । तर, अफसाइड रहदा उनको गोलले मान्यता पाएन ।हिमालयनका फरवार्ड मुटुम्बाले ७१ औं मिनेटमा आशिष गुरुङको पासमा पेनाल्टी एरिया भित्रबाट प्रहार गरेको बल आकाशिएको थियो ।

 

खेलको ८४ औं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मनाङलाई १-० को अग्रता दिलाए । पुजन उपरकोटीको कर्नरमा निशान लिम्बुको फ्लिक हेडर पासमा ओलावालेले गोल गरे । जुन गोल खेलको निर्णायक गोल बन्यो । त्यसअघि मनाङका दिपक राईले ८३ औं मिनेटमा निशानकै क्रसमा प्रहार गरेको हेडर बल हिमालयनका गोलकिपर दीप कार्कीले पन्च गर्दै बाहिर पठाएका थिए ।

 

यस जितसँगै कीर्तिमानी आठ पटकको विजेता मनाङ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १-० ले हराएको थियो ।

 

हिमालयनको यो पहिलो हार हो । पहिलो खेलमा हिमालयनले संकटा क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो । खेलको म्यान अफ दि म्याच मनाङका पुजन उपरकोटी चुनिए ।

 

च्यासलको पहिलो जित

शनिबार नै भएको खेलमा च्यासल युथ क्लबले पहिलो जित निकालेको छ । विभागीय टिम एपीएफ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै च्यासलले पहिलो जित दर्ता गरेको हो । च्यासललाई जित दिलाउन रुमेश बर्तौलाले निर्णायक गोल गरे ।

 

खेलको ४९ औं मिनेटमा रुमेशले गोल गर्दै च्यासललाई सुरुआती अग्रता दिलाए । कमल श्रेष्ठको पासमा पेनाल्टी एरियाको एजबाट उनले टप कर्नरमा सुन्दर गोल गरे । जुन गोल खेलको निर्णायक गोल बन्यो ।

 

यस जितसँगै च्यासलले दुई खेलमा ३ अंक जोडेको छ । च्यासल लिगको सातौं स्थानमा उक्लिएको छ । च्यासल पहिलो खेलमा थ्री स्टारसँग ३-० ले पराजित भएको थियो ।

 

एपीएफको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३-२ गोल अन्तरले पराजित भएको थियो । एपीएफ २ खेलमा अंकविहीन रहदै पुछारमा रहेको छ । खेलको म्यान अफ दि म्याच रुमेश चुनिए । खेलपाटीबाट