झापा (एजेन्सी) । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ ।

 

यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा नयाँ भरियन्ट देखिएको छ । डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्र्सन घोषणा गर्दै त्यसलाई ओमिक्रोन नाम दिएको छ ।

 

अमेरिका, बेलायत, स्वीट्जरल्यान्ड, युरोपेली युनियनलगायत केही देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् । बेलायतमा दुई जनामा यो भाइरस देखिएको छ । दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो अनि इस्वाटीटीका नागरिकलाई विभिन्न देशले यात्रा प्रतिबन्ध लगाएका हुन् ।

 

ओमिक्रोन भेरियन्टको जोखिम उच्च भएको भन्दै सावधानी दर्शाउन डब्लूएचओले सबै देशलाई निर्देशन दिएको छ । यो भेरियन्ट ठूलो संख्यामा उत्परिवर्तन भएको पनि डब्लूचएओको भनाइ छ । डब्लूएचओले शुक्रवार बी.१.१.५२९ नाम दिइएको भेरियन्टका कारण दक्षिण अफ्रिकाका सबै जसो राज्यहरूमा सक्रमण बढेको जनाएको थियो । वैज्ञानिकहरूले यो भेरियन्टबारे थप अध्ययन गरिरहेका छन् ।

 

 

भारतमा उच्च सतर्कता अपनाइँदै

दक्षिण अफ्रिकामा कोभिड १९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखा परेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका छन् ।

 

विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग बढी आवतजावत हुने मुलुकलाई लक्षित गरी हवाई सम्पर्कलाई विच्छेद गर्ने सम्बन्धमा अधिकारीहरूले प्रधानमन्त्रीलाई सुझाब दिएका छन् ।

 

यसै सन्दर्भमा प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोपलाई आक्रामक रूपमा विस्तार गर्न निर्देशन दिनुभयो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि कोरोनाको नयाँ भेरियन्टबाट प्रभाविकत मुलुकहरूसँगको उडानमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।

 

मोदीले निकै प्रयत्नपछि मुलुकले कोरोनाको प्रभावलाई नियन्त्रणमा लिइएको भन्दै नयाँ भेरियन्टबाट भारतलाई जोगाउन हरसम्भव प्रयास गर्नु पर्ने बताए। भारतले हङकङ, बोत्सवाना र इजरायलबाट आउने सबै यात्रीहरुको स्वास्थ्य जाँच गर्न विमानस्थललाई निर्देशन दिएको छ ।