झापा । कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिबल प्रतियोगिता आज मंगलबारदेखि सुरु भएको छ ।

 

कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित सो प्रतियोगिताको पहिलो खेलमा बाह्रदशी गाउँपालिका विजयी भएको छ । आयोजक कमल गाउँपालिकालाई १९-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गर्दै बाह्रदशी गाउँपालिका विजयी भएको हो । प्रतियोगिताको म्यान अफ दि म्याच बाह्रदशीका सुदिप कार्की घोषित भए । उनले दुई हजार प्राप्त गरे ।

 

त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा बुद्धशान्ति गाउँपालिकालाई २०-२५, १८-२५ को सोझो सेटमा पराजित गर्दै बिर्तामोड नगरपालिका प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

 

झापा जिल्लाभित्रका पालिकास्तरीय हुने यस प्रतियोगितामा १० वटा पालिकाहरुको सहभागिता रहेको खेल संयोजक सुदिप राईले बताए । संयोजक राईका अनुसार प्रतियोगितामा बाह्रदशी गाउँपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, कन्काई नगरपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका, भद्रपुर नगरपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरपालिकाको सहभागिता रहनेछ ।

 

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ हजार प्राप्त गर्नेछ भने उपविजेताले नगद ५१ हजारमा चित्त बुझाउनु पर्नेछ ।