झापा । शिवसताक्षी ७ मा जारी प्रथम एनी फाक्तेप गोल्डकप २०७८ को अन्तिम क्वाटरफाइनल खेलबाट तुर्केनी युथ फुटबल क्लब काँकरभिट्टा सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

आयोजक फाक्तेप फुटबल क्लबलाई २-१ गोलले पराजित गर्दै काँकरभिट्टाले अन्तिम चारमा स्थान बनाएको हो । काँकरभिट्टाको जितसँगै सेमी समिकरण पूरा भएको छ । पहिलो हाफमा काँकरभिट्टाले अग्रता लिएको थियो । काँकरभिट्टाका इन्द्रजंग लिम्बू (सानुका)ले पहिलो हाफको १२औँ मिनेटमा गोल गरेका थिए ।

 

तर, १ गोलले पछि परेको अवस्थामा फाक्तेपका लागि मनिष लिम्बूले पहिलो हाफकै ३२औँ मिनेटमा गोल गरेर खेलमा फर्केको थियो । दोस्रो हाफ १-१ को बराबरीमा टुंगिएको थियो ।

 

जित निकाल्न काँकरभिट्टालाई दोस्रो हाफको ३१औँ मिनेट कुर्नु परेको थियो । मिलन राईको पासमा विकेश लिम्बूले सम्झनलायक गोल गरेर २-१ गोलको अग्रता दिलाए । उनले बायाँ साइडबाट दोस्रो बार च्याप्दै जिरो एंगलबाट जाली चुमाउन सफल भएका थिए ।

 

उनी खेलको म्यान अफ दी म्याच घोषितहुँदै नगद ३ हजार पाउन सफल भए । उनलाई शिवसताक्षी ७ का वडाध्यक्ष नविन इजमले नगद प्रदान गरे ।

 

बुधबार पहिलो सेमिफाइनल खेल हुनेछ । जसमा पथरी स्पोर्टिङ क्लब मोरङ र धरान सिटी एफसी सुनसरीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार र उपविजेताले ५१ हजार र ट्रफी पाउनेछ । प्रतियोगिताको फाइनल खेल मंसिर १८ गते हुनेछ ।