मोरङ । कटहरी गाउँपालिका ३ का ३८ वर्षीय शेखर राजव्रशीलाई आफ्नै साथीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

 

स्थानीय २८ वर्षीय झप्पु भन्ने अशोक ऋषिदेवको शनिबार राति हत्या गरी चक्रपथ सडकको नालामा फालेको आरोपमा राजवंशीलाई सोमबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी मन्जिल मुकारुङले बताए । राजवंशीलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङबाट ५ दिनको म्याद थप गराएर अनुसन्धान सुरु गरेको उनले सुनाए ।

 

ऋषिदेवको शव साइकलसहित नालामा डुबेको अवस्थामा प्रहरीले आइतबार बरामद गरेको थियो । शव बरामद भएपछि टाउकोमा गम्भीर चोट देखिएकाले प्रहरीले अनुसन्धान गर्ने क्रममा राजवंशीले हत्या गरेर नालामा फालेको तथ्य पत्ता लगाएको मुकारुङले बताए ।

 

शनिबार रातिसँगै मदिरा सेवन गरेर चक्रपथ सडकमा हाँसोठट्टा गर्दै हिँड्ने क्रममा राजवंशीले धक्का दिँदा ऋषिदेव लडेका थिए । लडेपछि टाउकोको पछाडि भागमा गम्भीर चोट लागेर घटनास्थलमा नै ऋषिदेवको मृत्यु भएपछि घटना लुकाउन राजवंशीले शव नहरमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी मुकारुङले बताए । इकान्तिपुरबाट