झापा । देशको सबैभन्दा धेरै जनसंख्या भएको पाँच जिल्लामा झापा परेको छ ।

 

बुधबार केन्द्रीय तथ्यांकले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजाले जनसंख्याको हिसाबले झापा देशकै चौँथो जिल्लाको रुपमा देखिएको छ । केन्द्रीय तथ्यांकले नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको तथ्यांक सार्वजनिक गरेको थियो ।

 

जसमा सबैभन्दा धेरै जनसंख्या भएको पाँच जिल्लामा काठमाण्डौं पहिलो रहेको छ । त्यसपछि दोस्रोमा मोरङ, तेस्रोमा रुपन्देही, चौँथोमा झापा र पाँचौमा सुनसरी रहेको छ ।

 

 

२०७८ सालको जनगणना अनुसार झापाको जनसंख्या ९ लाख ९४ हजार ९० पुगेको हो । जुन कूल जनसंख्याको ३.४१ प्रतिशत हो । जिल्लाको कूल जनसंख्यामा पुरुषको संख्या ४ लाख ७७ हजार ४९६ र महिलाको संख्या ५ लाख १६ हजार ५९४ रहेको छ ।

 

यसबाट ३९ हजार ९८ जना महिला बढी रहेको देखिन्छ । जिल्लाको जनसंख्या बृद्धिदर १.९३ प्रतिशत रहेको छ । त्यस्तै औषत परिवार संख्या ४.०४ रहेको छ ।