इटहरी । झापाबाट काठमाडौ जाँदै गरेको यात्रुबाहक बस र सिमेन्ट बोकेको मालबहाक ट्रक एकआपसमा ठोक्किँदा सुनसरीमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि २७ जना घाइते भएका छन् ।

 

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको लौकही क्षेत्रमा पर्ने भोक्राहा नरसिंह ३ र ६ को सिमानामा रहेको पुलमा यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

साँझ साढे सात बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक रात्री बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सिमेन्ट बोकेको ना ५ ख २९९६ नम्बरको ट्रक एकआपसमा जुध्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सञ्जयसिंह थापाले बताए ।

 

ट्रक र बस एक आपसमा जुध्दा आगो लागेको थियो । ‘घटनास्थलमा तीन जनाको शव देखिएको छ । तर, पहिचान भएको छैन’, उनले भने । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी सुमन तिम्सिनाले पनि बसका चालकसहित ३ जनाको मृत्यु भएको पुष्टि गरे ।

 

जुधेका सवारीमा आगलागी भएकोले आगो निभाउन समय लागेको र क्रेन लगाएर ट्रक र बस अलग गराइएको उनले बताए । घाइतेको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।