बिर्तामोड । झापा बिर्तामोडका नाम्गेल तामाङलाई भोट गर्न उनकी आमा गीताले आग्रह गरेकी छन् । नेपाल आईडल सिजन ४ को टप ८ मा परेका नाम्गेललाई भोट गरेर विजयी बनाउन आमाको आग्रह हो ।
सुमधुर स्वरका धनी नाम्गेललाई संगीत क्षेत्रका नक्षत्रका रुपमा झापाली संगीत साधकहरुले लिएका छन् । भोटिङ राउण्डमा पुगेर प्रतिष्पर्धा गरिरहेका नाम्गेललाई विजेता बनाउन संगीतप्रेमीहरुले यसअघि अभियान नै सञ्चालन गरेका थिए ।
नाम्गेललाई भोट गर्न स्वदेशमा मोबाइलमा सेलपे एप डाउनलोड गरी भोट गर्न सकिन्छ । त्यस्तै, विदेशमा रहनेले सृष्टि एप डाउनलोड गरी त्यसमा भोटिङ कोड ०७ टाइप गरी ३७००० मा सेन्ड गर्न सकिने उनले बताइन् ।
परिवारको तर्फबाट मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नाम्गेललाई जिताउन भोटको अपिल गरिएको थियो । सोही कार्यक्रममा बोल्दै उनकी आमा गतिाले कुनै बेला ८ हजारको गितार किनेर दिन नसकिएको स्मरण गरेकी थिइन् । आमा गीताले छिमेकीबाट सापटी लिएर सिलिगुडीबाट गितार ल्याइदिएको सुनाइन् ।
स्टेज शोदेखि रेष्टुरेन्टमा प्रस्तुति दिँदै गायन कलामा निखार ल्याएका नाम्गेल मिहेनती कलाकार हुन् । उनी जुनसुकै प्रकारका गीत, संगीत गर्न माहिर छन् । नेपाल आइडलमा उनको प्रस्तुतिको कलाले गर्दा नै टप ८ मा पर्न सफल भएको प्रशंसकहरु बताउँछन् ।
युटुयुवमा कभर भिडिओ बनाएर लाखौँ संगीतप्रेमीको मन जित्न सफल नाम्गेल विद्यार्थी जीवनबाटै संगीत क्षेत्रमा होमिएका कलाकार हुन् । नेपाली सांगीतिक आकाशमा सम्भावना बोकेका नाम्गेललाई जिताउन अहिले झापाबासीसँग उनका परिवार र अभियानले आग्रह गरेका छन् ।
एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको उक्त कार्यक्रम बिहीबार राति १० बजेदेखि सोमबार दिउँसो १२ बजेसम्म भोटिङ खुल्ला गरिएको बताउँदै उनले बढीभन्दा बढी भोट गरेर नाम्गेललाई बिजेता बनाउन आग्रह गरिन् ।
झापाको बिर्तामोडमा रहेर आफ्नो सांगीतिक यात्रा अघि बढाएका उनी नेपाल आईडल सिजन ४ मा सहभागी हजारौं प्रतिस्पर्धीमध्ये १३६ मा छानिएर ११६ जनालाई पछि पार्दै टप ३० मा परेका थिए । उनी टप ३० मध्येबाट आफ्नो उत्कृष्ट प्रस्तुतिका आधारमा टप १२ हुँदै टप ८ मा पुगेका हुन् ।
नाम्गेललाई नेपाल आईडल सिजन ४ को विजेता बनाउन संगीतकार जोनी तामाङको संयोजकत्वमा नाम्गेल तामाङ जिताउ अभियान समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा विशाल अग्रवाल, कृति भट्टराई, अपेक्षा राई, आयुस गुरुङ, अनिष पुडासैनी, राहुल राई, नसिव मगर, ललीत राजवंशी, अनिस सुवेदी, आशिष बुढाथोकी, सन्देश गुरुङ र विजय पाँचकोटी रहेका छन् ।
बिर्तामोडको सरगम संगीतालयमा संगीत र भोकल सिकेर गायन कलामा अब्बल नाम्गेल तामाङलाई नेपाल आईडल सिजन ४ को बिजेता बनाउन भोट गरिदिन उनका संगीत गुरु सरगम संगीतालयका प्रवन्ध निर्देशक दिपक रायमाझीले आग्रह गरेका छन् ।
जुनसुकै प्रकारका गीत गाउन सक्ने गुण भएका नाम्गेल तामाङलाई बिजेता बनाउन भोट गरिदिन आशिष बुढाथोकी, लोकेश अधिकारी, ताजी राई, गोविन्दप्रसाद भट्टराईलगायतले आग्रह गरेका छन् ।नाम्गेलको सपोर्टमा आज (बुधबार) प्रचारप्रसारका लागि मोटरसाइकल र्याली निकालिने भएको छ ।