विराटनगर । साइनो स्पोर्टस क्लब रानी विराटनगर दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अब साइनोले फाइनलमा बुधबार हुने अन्तिम सेमिफाइनलमा गोलबजार प्रतिभा फुटबल क्लब सिराहा र दमक एकेडेमी झापाबीच जित्ने टिमसँगै प्रतिस्पर्धा गर्नेछ ।

 

गोधुली क्लब धरान सुनसरीलाई ‘सडन डेथ’ मा ९-८ गोलले हराउँदै साइनो फाइनलमा पुगेको हो । विराटनगरस्थित जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा निर्धारित समयसम्म गोलरहित खेल बराबरीमा टुंगिदा खेलको निर्णय सडन डेथबाट लिइएको थियो ।

 

सडन डेथमा साइनोका अशोक खवास, कैलाश बस्नेत, दिवाकर चौधरी, निशेन सुब्बा, मिन धिमाल, खमिर गिल्सन, दिनेश राई, भुवन बस्नेत र एन्जल श्रेष्ठले गोल गरेका थिए । निशान लिम्बुको प्रहार बाहिरयो ।

 

धरानका दोर्जे तामाङ्ग, सुशिल राई, दिवस सुनवार, मनोज राई, जिवन गुरूङ, मनिष थापा, तपन कार्की र उमेश राईले गोल गरे । मिलन राई र सन्जित राईको प्रहार साइनोका गोलकिपर एन्जल श्रेष्ठले बचाउ गरिदिए । साइनोका गोलकिपर एन्जल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।