दमक । निरकुमार राईको गोल मद्दतले नेपाल पुलिस क्लब काठमाडौं फेरि झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पुलिस दमक गोल्डकपको साविक विजेता पनि हो ।

 

गोर्खा ब्वाइज रुपन्देहीलाई १-० गोल अन्तरले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको हो । खेलको ५९औँ मिनेटमा निरकुमार राईले डिएरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । उनको यही गोल निर्णायक बन्यो ।

 

प्रतिस्पर्धातमक खेलमा गोर्खा ब्वाइजले गोल गर्ने प्रयास ग¥यो । तर, सफल हुन सकेन । जीतसँगै पुलिसले शुक्रबार उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

 

खेलको म्यान अफ दि म्याच निरकुमार राई भए । उनले नगद १० हजार पाए । दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा चार विदेशी टोलीसहित १० टोलीको सहभागिता थियो ।

 

प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए ।

 

सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।