तेह्रथुम । ऐतिहासिक आठराई मदन मेलामा आयोजित मदन मेमोरियल फुटबल प्रतियोगितामा शनिबार भएको खेलमा पुरुषतर्फ खाम्लालुङ, झापा र ह्वाकु विजयी भए । यस्तै, महिलातर्फ पाँचथरको फाक्तेप विजयी बनेको छ ।

 

त्रि-मोहन माविको खेलमैदानमा आयोजित पहिलो खेलमा गिरी समाज खाम्लालुङले नवदीप युथ क्लब चुहानडाँडालाई ५-१ गोलअन्तरमा पराजित गर्यो । खाम्लालुङका लागि कप्तान सन्तोष लिम्बूले ह्याट्रिक पूरा गरे भने किरण नेपालीले थप २ गोल गरे । यस्तै, ह्वाकुका तर्फबाट अभिषेक लिम्बूले मात्र गोल गर्न सफल भए ।

 

दोस्रो खेलमा झापाको जामुनखाडी स्पोर्टिङ क्लबले खेलकुद विकास समिति छातेढुंगामाथि २-० गोलको जित दर्ता गर्यो । जामुनखाडीका लागि रोशन बर्देवा र दिपेन भुजेलले गोल गरेर टिमलाई जिताए ।

 

तेस्रो खेलमा ह्वाकुको प्रगतिशील तमु युवा समूह विजयी भयो । उसले नामजाङ थोक्लुङलाई ३-० गोलअन्तरले पराजित गर्यो । ह्वाकुका लागि कप्तान ताङसाङ इङनामले २ र घनिन्द्र तामाङले एक गोल गरे । यस्तै, एउटा टोली अनुपस्थित भएपछि जिरीको टोली सोझै वाकओभर पाएर दोस्रो चरणमा प्रवेश गरेको छ ।

 

 

महिलातर्फ पाँचथर विजयी
शनिबार नै भएको महिलातर्फको खेलमा पाँचथरको पिवाइसी फाक्तेप विजयी बनेको छ । स्पर्धी एफसी सम्दु फेदापलाई २-१ गोलअन्तरले पराजित गर्दै फाक्तेप सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

फाक्तेपका लागि कप्तान मनिता तुम्रोकले २ गोल गरिने भने सम्दुकी आरती लिम्बूले एक गोल गरिन् । ८ टिम सहभागी महिलातर्फको विजेता टोलीले नगद ६५ हजार पाउनेछ भने उपविजेताले ४० हजारमा चित्त बुझाउनु पर्नेछ ।

 

सम्दुको महिला फुटबल टोलीलाई आयोजकले नगद प्रदान गरेको थियो । मदन मेला आयोजक समितिका अध्यक्ष दुर्गाराज गुरुङ काजीले सम्दुकी कप्तान सेवा लिम्बूलाई नगद ५ हजार प्रदान गरे ।

 

१८ वटा टिम सहभागी पुरुषतर्फको विजेताले नगद १ लाख ३५ हजार पाउनेछ भने उपविजेता टोलीले ७५ हजारमा चित्त बुझाउनु पर्नेछ । ऐतिहासिक मदन मेला २०१५ सालदेखि लाग्दै आएको छ ।