तेह्रथुम । ऐतिहासिक मदन मेला २०७८ मा जारी मदन मेमोरियल फुटबल प्रतियोगितामा पुरुषतर्फ प्रगतिशील तमु युवा समूह ह्वाकु र भद्रगोल युवा समूह लिसिबुङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

आइतबार त्रि मोहन माविको खेलमैदानमा भएको पहिलो खेलबाट ह्वाकु सेमिफाइनलमा प्रवेश गरेको हो । ह्वाकुले जिरिखिम्ती युथ क्लब म्याङलुङलाई १-० गोलले पराजित गरेर सेमिफाइनल यात्रा तय गरेको हो । उसका लागि सुरेन राईले गरेको गोल नै निर्णायक बनेको थियो ।

 

यसैबीच, जिरिखिम्तीको खेल मन पराएर आयोजक समितिले निर्माण गरेको निर्णायक समितिका सदस्य दिपक चोङबाङले कप्तान विदुर लिम्बूलाई नगद ५ हजार प्रदान गरे ।

 

 

यस्तै, दोस्रो खेलमा जामुनखाडी स्पोर्टिङ क्लब झापालाई २-१ गोलअन्तरले पराजित गर्दै लिसिबुङले अन्तिम चारमा स्थान बनायो । लिसिबुङका लागि सुल्सान लिम्बूले २ गोल गरेका थिए । यस्तै, झापाका लागि कप्तान दिपेन भुजेलले सान्त्वना गोल गरेका थिए ।

 

मदन मेला समितिले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १ लाख ३५ हजार पाउनेछ भने उपविजेताले नगद ७५ हजारमा चित्त बुझाउनु पर्नेछ । यस्तै, महिलातर्फको विजेताले नगद ६५ हजार र उपविजेताले नगद ४० हजार पाउनेछ ।