काठमाडौं । एएफसी कप छनोट २०२२ को प्ले अफ अन्तर्गत मछिन्द्र फुटबल क्लबले भोलि मंगलबार श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ । ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु स्टारसँग खेल्नेछ । मछिन्द्र र ब्लु स्टारबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ ।

 

मछिन्द्रले पहिलोपटक एएफसी कप छनोट खेल्न लागेको हो । अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोट खेल्ने मौका गुमाएको थियो । मछिन्द्र आफ्नो पहिलो सहभागितामै समूह चरणसम्म पुग्ने योजनामा रहेको छ । मछिन्द्रले त्यहिँ अनुसार तयारी गरिरहेको छ ।

 

‘घरेलु मैदानमा खेल छ । समूह चरणसम्म पुग्ने लक्ष्य छ । दबाब त छ । अन्तराष्ट्रिय खेल हो । दबाबलाई पन्छाएर समूह चरणको लक्ष्य छ’, ब्लु स्टारसँगको खेल अघि मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले भने, ‘हामी समूह चरणसम्म पुग्यौं भने नेपाली फुटबलको लागि राम्रो हो । हामी सक्षम पनि छौँ । त्यसको लागि लक्ष्य बनाएर हिडेका छौँ ।’

 

अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोटको मौका गुमाएको थियो । मछिन्द्रको स्थानमा त्रिभुवन आर्मी क्लबले खेलेको थियो । प्रशिक्षक कटवालले विपक्षी टोली राम्रो रहेको समेत बताए । उनले आफ्नो टोलीका परिवर्तन नभएको समेत बताए ।

 

‘हाम्रो टोलीमा परिवर्तन छैन । लिग खेलेकै २४ खेलाडी छन् । श्रीलंकाको लिग राम्रो चलिरहेको छैन । ब्लु स्टार त्यसको च्याम्पियन रैछ । उनीहरुको खेल हेरेको छु, राम्रो खेलेको छ विपक्षी टिम राम्रो छ’, उनले थपे । प्रशिक्षक प्रवेशले सुनिल बलको इन्जुरी ठिक भईसकेको बताए । तर, उनको पुरानो लय आउँछ आउँदैन हेर्न बाँकी रहेको बताए ।

 

मछिन्द्रका कप्तान सुजल श्रेष्ठले टोलीको लक्ष्य दोस्रो चरण भन्दा माथि पुग्ने रहेको बताए । ‘लिग सुरु भएपछि हाम्रो लक्ष्य एएफसी खेल्ने थियो । त्यस हामी सफल भयौं’, सुजलले भने, ‘हाम्रो तयारी राम्रो भइरहेको छ । दोस्रो चरण भन्दा माथि जाने लक्ष्य छ ।’

 

यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । जुन खेल अप्रिल १२ मा हुनेछ । मछिन्द्रले यस खेलको टिकट दर १ हजार र ५ सय राखेको छ । भीआईपीतर्फ १ हजार र सामान्यतर्फ ५ सयको टिकट दर राखिएको छ । खेलपाटीबाट