शनिश्चरे । झापा बिर्तामोडको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको छ । यसै क्रममा आज अर्जुनधारा नगरपालिकाको शनिश्चरे सेवा केन्द्रमा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाा अध्यक्ष सुव्रत न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए । शनिश्चरे सेवा केन्द्रका सदस्यलाई संस्थाका सञ्चालक सदस्य चिजा राईले स्वागत गरेकी थिइन् ।

 

कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत तथा प्रशिक्षक डिल्लीप्रसाद दाहालले सहकारी शिक्षा, सहकारी नीति र कार्यक्रमका बारेमा सहभागीलाई जानकारी गराएका थिए । यस्तै, संस्थाका अध्यक्ष न्यौपानेले संस्थाको नीति तथा कार्यक्रम, संस्थाले उपलब्ध गराइराखेको सेवा सुविधाका बारेमा प्रष्ट्याएका थिए ।

 

उनले संस्थाको सदस्य बनेपछि जन्मदेखि मृत्यु संस्कारसम्म सेवा दिँदै आएको बताउँदै सदस्यका बालबालिकाका लागि शिक्षा सेवा पनि सञ्चालनमा ल्याइसकेको जानकारी दिए । संस्थाले अहिले शिक्षा शिकोप निकेतन सञ्चालनमा ल्याएको छ ।

 

उनका अनुसार निकेतनमा अहिले युकेजीसम्म अध्ययन भइरहेको छ । निकट भविष्यमा १० कठ्ठा क्षेत्रफलमा संस्थाको आफ्नै भवन निर्माण गरि शिक्षा शिकोप निकेतन सञ्चालनमा ल्याइनेछ ।

 

उनले शेयर सदस्य सुत्केरी भएको खण्डमा १५ हजार, पुरुष सदस्यलाई मातृ स्यहारका लागि आधा रकम, २ लाखसम्म उपचार खर्च, परिवारका सदस्यलाई १ लाखसम्म उपचार खर्च र मृत्यु संस्कारमा ३५ हजार प्रदान गरिने पनि जानकारी गराए ।

 

यसमा शेयर सदस्यले ६० हजार बचत रहनेगरी ६७ हजार १ सय रुपैयाँ बुझाउनु पर्ने संस्थाको प्रावधान रहेको छ । परिवारका सदस्यलाई उपचार खर्च शीर्षकमा प्रति परिवार सदस्य २ हजार ५ सय शूल्क बुझाउनु पर्ने हुन्छ ।

 

यस्तै, ६५ महिनासम्म बचत गरेवापत एकमुष्टरुपमा बचतको दोब्बर रकम फिर्ता गर्ने नीति पनि संस्थाले सञ्चालनमा ल्याइसकेको उनले जानकारी गराए । जसमा कम्तिमा मासिक ३ सय रुपैयाँ बचत गर्नुपर्ने प्रावधान रहेको छ । बिर्तामोडमा प्रधान कार्यालय रहेको संस्थाको शनिश्चरे, धाइजन, धुलाबारी, दुर्गापुर र चैतुबारीमा सेवा केन्द्र रहेको छ ।