शनिश्चरे । अर्जुनधारा नगरपालिकालाई पशुपालनको तर्फबाट समृद्ध बनाउँदै विकासतर्फ लैजाने उद्देश्यले एकदिने योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । पशुपालनको माध्यमबाट कृषकको आर्थिकरुपमा विकास गर्नका लागि नगरबाट हुने पहलमा योजना तर्जुमा गोष्ठी केन्द्रित थियो ।

 

अर्जुनधारा नगर पशुपन्छी, मत्स्य तथा कछुवा विकास शाखाले आयोजना गरेको कार्यक्रममा बितेका ५ वर्षमा पशु तथा कृषि क्षेत्रमा भएका गतिविधि पनि सार्वजनिक गरिएको थियो । गोष्ठीमा नगरका जनप्रतिनिधि, शाखा प्रमुख, वडा सचिवलगायतको सहभागिता रहेको थियो ।

 

नगर पशुपन्छी, मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदमलाल राईले विगतमा सञ्चालन गरिएका योजनाको उपलब्धी, आगामी वर्षका लागि प्रस्तावित याजना र रणनीतिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । नगरका जनप्रतिनिधि, कार्यालयका कर्मचारीलाई सहभागी गराएर भावी योजनाबारे छलफल गरिँदा प्रभावकारी हुने शाखा प्रमुख राईले बताए ।

 

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव सिंह गोम्देनको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन संविधानसभा सदस्य प्रेमबहादुर गिरीले गरेका थिए । गोष्ठीमा नगर प्रमुख गोम्देन, उपप्रमुख खड्गमाया पराजुली, निवर्तमान प्रमुख हरिकुमार राना, उपप्रमुख कमला खतिवडा आचार्यलगायत विभिन्न वडाका वडाध्यक्षहरुले पशुपन्छीको विषयमा आफ्ना भनाइ राखेका थिए ।