सांकेतिक तस्वीर ।

झापा । नचिनेको रोगका कारण एकै जना व्यवसायीको ५८ वटा बंगुर मरेको छ । एकपछि अर्को गर्दै खोरमै बङ्गुर मर्न थालेपछि मेचीनगर नगरपालिका ६ का व्यवसायी भक्तबहादुर राई अहिले चिन्तित बनेका छन् ।

 

एक हप्ताको अन्तरालमा उनले पालेका ५८ उन्नत जातका बङ्गुर मरिसकेका छन् । स्माट एग्रो फर्म नामक संस्था दर्ता गरेर विगत दुई वर्षदेखि किसान राईले ४७ लाखको लागतमा मेचीनगर ८ स्थित मङ्गल चोकमा बङ्गुर पाल्न सुरु गरेका थिए । फार्ममा रहेका ९४ विभिन्न प्रजातिका बङ्गुरमध्ये ५८ वटा नचिनेको रोगका कारण मरेका छन् ।

 

उनले भने, ‘बाँकी बङ्गुरलाई कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ ।’ ल्याण्डप, पाख्रीबास, डिउरो, होल्याण जस्ता उन्नत जातका बङ्गुरपालन गरेका राईको खोरमै दैनिक छ देखि सात वटासम्म १३० केजीसम्मका मर्न थालेपछि उनलाई बाँकी रहेका बङ्गुर जोगाउन मुस्किल परिरहेको छ ।

 

‘हप्तादिनको अवधिमा ५० किलोदेखि १३० किलोसम्मका बङ्गुर भटाभट मरे’, उनले भने, “पाठापाठीको त हिसाबै राखेका छैनौँ । मरेकामध्ये पाँच वटा ठूला बङ्गुरको मात्र इन्स्योरेन्स गरेको थिएँ ।’ बङ्गुरमा छेरौटी, उच्च ज्वरो, आहारा नखाने र झोक्राएर बस्ने जस्ता लक्षण देखिएको उनको भनाइ छ ।

 

हालसम्म मेचीनगर नगरपालिकाको पशु सेवा विभागले प्रयोगशाला परीक्षण नगरिएको जनाएको छ । विभाग प्रमुख पशु प्राविधिक छत्रबहादुर राईले रोगको पहिचानका लागि जिल्लाको समन्वयमा प्रयोगशाला परीक्षणका लागि पठाउने तयारी भइरहेको बताए ।