धनकुटा । अन्तरपालिकास्तरीय सहिद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकाले हात पारेको छ । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा धनकुटा नगरपालिकाले चौबिसे गाउँपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

 

विजेता धनकुटाले नगद ५० हजार रुपैयाँसहित कप प्राप्त गरेको छ । उपविजेता चौबिसे गाउँपालिकाले ३० हजार रुपैयाँ नगदमा चित्त बुझाएको छ ।

 

धनकुटा तर्फबाट अनिता लम्जेलले २ गोल तथा अञ्जना थुलुङले १ गोल गरेकी थिइन् । फाइनल खेलको वुमन अफ द म्याच धनकुटा नगरपालिकाकी अनिता लम्जेल घोषित भइन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडी धजकुटा नगरपालिकाकै तिर्था लिम्बु घोषित भइन्।

 

प्रतियोगितामा धनकुटा जिल्लाका ७ वटा पालिकाको सहभागिता रहेको थियो । धनकुटा नगरपालिकाले छथर जोरपाटी गाउँपालिकालाई र चौबिसे गाउँपालिकाले सहिदभूमि गाउँपालिकालाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

 

धनकुटा नगरपालिका ७ निवासी रामकृष्ण श्रेष्ठको २०३० चैत ३ गते विराटनगरमा बम विस्फोटका क्रममा निधन भएको थियो । श्रेष्ठलाई २०७४ साल माघ ३ गते तत्कालीन सरकारले राष्ट्रिय सहिद घोषणा गरेको थियो । यो समाचार इकान्तिपुरमा छ ।