झापा । झापाको दमकमा फोहोरबाट ऊर्जा (ग्यास) उत्पादन सुरु भएकाको छ । पहिलोपटक उत्पादित ग्यासको सफल परीक्षणसमेत गरिएको छ। दमकको फोहोर व्यवस्थापनसहित ग्यास उत्पादनको जिम्मा पाएको नेक्स्टइरा इनर्जी प्रालिका प्रबन्ध निर्देशक विमल खतिवडाका अनुसार शुक्रबार साँझ यहाँ उत्पादन भएको ग्यास बालेर पहिलो परीक्षण गरिएको हो । दमकबाट नियमित निस्कने फोहोरबाट ग्यास र प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले २० करोडभन्दा बढीको लागत परियोजनामा चार वर्षअघि काम सुरु भएको थियो ।

 

फोहोरबाट ऊर्जा उत्पादन कार्यक्रमअन्तर्गत ग्यास, प्राङ्गारिक मल र झोल मल उत्पादन गरिने लक्ष्य नजिक पुगेको खतिवडाले बताए तर उत्पादनपछि बजारीकरणको चिन्ता सुरु भएको उनको भनाइ छ । ‘ग्यास त उत्पादन सुरु भयो तर यसको बिक्रीको समस्या छ’, उनले बताए । दमक ३ स्थित हंसेदुम्से सामुदायिक वन क्षेत्रको हाताभित्र रतुवा खोला किनारमा फाहोर प्रशोधन केन्द्रसहितको ऊर्जा उत्पादनका लागि आवश्यक संरचना स्थापना भइसकेको छ ।

 

नेक्स्टइरा इनर्जीका अध्यक्ष युवराज घिमिरेका अनुसार २०७६ साल माघ १० गते निर्माणका लागि सम्झौता भएर सोही वर्षको चैतदेखि काम सुरु भएको थियो ।

 

कुल २० करोड ५९ लाख रुपियाँको लागत सम्झौतामध्ये पाँच करोड ८८ लाख रुपियाँको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको लगानी रहेको छ । कम्पनी आफैँले १४ करोड ७० लाख रुपियाँ लगानी गरेको छ । परियोजनाको अवधि उत्पादन भएको मितिले २० वर्ष रहेको छ ।

 

कुहिएको फोहोरबाट मिथेन बायोग्यास उत्पादन हुने र उत्पादन भएको ग्यासलाई प्रशोधन गरी ग्यास पाइप वा सिलिन्डरमार्फत वितरण गरिएको छ । यो परियोजनाबाट दैनिक करिब एक हजार ८४ किलोग्राम बायोग्यास उत्पादन गर्न सकिन्छ । ग्यासका साथै अहिलेको अवस्थामा दैनिक १० हजार किलोग्राम प्राङ्गारिक मल र सरदरमा सात हजार पाँच सय लिटर झोल मल उत्पादन गर्न सकिने पनि घिमिरेले जानकारी दिए ।

 

दमक नगरपालिकाको वातवरण तथा सरसफाइ शाखाका अनुसार दमक क्षेत्रमा दैनिकजसो १५ देखि २० टन फोहोर उत्पादन हुने गरेको छ । यसको करिब ७५ प्रतिशतमात्र सङ्कलन हुने गरेको छ । यसमा ६६.५२ प्रतिशत जैविक फोहोर रहेको छ ।