काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नगर बजेटको नीति तथा कार्यक्रम ल्याएको छ । नगरको नीति तथा कार्यक्रममा घरेलु उत्पादनको लोकल रक्सीलाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्ने उल्लेख छ ।

 

आइतबार मेयर बालेन्द्र शाहले नगरसभाको ११औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । उक्त सभामार्फत मेयर शाहले स्थानीय नेवारी पेय पदार्थ (रक्सी) लाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्नेसम्म कार्यक्रम अघि सारेका छन् ।

 

मेयर शाहले साँस्कृतिक सहर काठमाडौंलाई नमुना शहरकै रुपमा विकास गर्ने योजना पनि सुनाए । ‘साँस्कृतिक सहर समृद्ध नगर’ मुल नारासहित समग्र महानगरको आर्थिक, सामाजिक, सांस्कृतिक सुधार एवं विकाससँगै पर्यावरणीय सन्तुलन कायम राख्दै हराभरा बनाउने बताए ।

 

स्वतन्त्रबाट मेयर जितेको करिब डेढ महिनामा नै आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने सौभाग्य पाएका मेयर शाहले नीति तथा कार्यक्रममार्फत काठमाडौं महानगरपालिकालाई पूर्णरुपमा साक्षरता नगरको घोषणा गर्नेदेखि सहरलाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको हबको रुपमा विकास गर्ने समेत घोषणा गरेका छन् ।

 

यस्तै उनले हाल काठमाडौंको बढ्दो सवारी साधन र पार्किङ समस्यालाई मध्यनजर गर्दै काठमाडौं ११ स्थित खुल्लामञ्च छेउको खाली जग्गामा अन्डर ग्राउन्ड पार्किङस्थल बनाउने गरि सम्भाव्यता अध्ययन गर्ने नीति पनि अघि सारेका छन् ।