अर्जुनधारा । झापाको अर्जुनधारामा नगर सामाजिक विकास शाखाको आयोजनामा दुई दिवसीय सहकारी लेखासम्बन्धी आधारभूत तालिम तथा सहकारी व्यवस्थापन तालिम सोमबारदेखि सुरु भएको छ । सहकारी लेखासम्बन्धी र सहकारी व्यवस्थापनसम्बन्धी छुट्टा छुट्टै तालिम सुरु भएको हो ।

 

अर्जुनधारा नगरपालिका कार्यक्षेत्र भई सञ्चालनरत् सहकारीका सञ्चालक समिति, व्यवस्थापक र कर्मचारीहरुलाई लक्षित गरि दुवै तालिमको आयोजना गरिएको शाखाका प्रमुख राजविक्रम खड्काले जानकारी दिए । नगरले सहकारीलाई चुस्त, दुरुस्त राख्न पहल गर्नुपर्ने, सहकारीले उत्पादनमुखी परिणाम दिनुपर्ने, आवश्यकअनुसार पुनर्ताजगी कार्यक्रम ल्याउनुपर्नेलगायत सहभागीले सुझाव राखेका छन् ।

 

अर्जुनधारा ७ स्थित सामूहिक उद्धार तथा उपकार संघको सभाहलमा आयोजित उक्त तालिमको प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले उद्घाटन गरेकी थिइन् । दुवै तालिमका सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षकद्वय तीर्थराज ओझा र देवीप्रसाद कोइरालाले प्रशिक्षण दिएका छन् ।

 

सहकारी लेखासम्बन्धी आधारभूत तालिमतर्फ लेखाको परिचय, अर्थ, अवधारणा, महत्व, लेखाको नियम र डेविट तथा क्रेडिट गर्ने विधि, लेखामा प्रयोग हुने शब्दावली, सहकारी संकेत नम्बरहरु, गोश्वारा भौचरको परिचय, आवश्यकता र प्रयोग साथै संकेत नम्बर अनुसार गोश्वारा भौचार प्रविष्टि अभ्यासका विषयमा जानकारी दिइने शाखाद्वारा जारी तालिमको कार्यतालिकामा उल्लेख गरिएको छ ।

 

यस्तै, सहकारीका मुख्य र सहायक खाताको परिचय, खाता संकेत नम्बर अनुसार गोश्वारा भौचार प्रविष्टि अभ्यास साथै व्यापार खाता सम्बन्धी जानकारी र वासलात तथा नाफा नोक्शान विवरण तयारी, खाताबन्दी सम्बन्धी जानकारी साथै सहकारी र गरिबी व्यवस्थापन जानकारी प्रणाली (कोपोमिस)का विषयमा जानकारी दिइने शाखाद्वारा जारी तालिमको कार्यतालिकामा उल्लेख छ ।

 

त्यसैगरी सहकारी व्यवस्थापन तालिमतर्फ सहकारी संस्थाको पृष्ठभूमि, उद्देश्य, सिद्धान्त तथा मूल्य मान्यताहरु, संस्थाको साधारणसभा तथा सञ्चालक समितिको काम कर्तव्य र अधिकार, सहकारीमा संस्थागत सुशासन र आन्तरिक नियन्त्रण प्रणाली र सहकारीमा बजेट तथा कार्यक्रम र योजनाको अवधारणा विषयमा जानकारी दिइने उक्त कार्यतालिकामा उल्लेख गरिएको छ ।

 

 

दुवै तालिममा जनही ५०-५० जनाभन्दा बढी प्रशिक्षार्थीको सहभागिता रहेको शाखाका प्रमुख राजविक्रम खड्काले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत राईको अध्यक्षतामा आयोजित तालिम उद्घाटन सत्रमा अर्जुनधारा ७ वडा समितिका अध्यक्ष गोविन्दप्रसाद खतिवडाले सहकारीको विषयमा आफ्नो धारणा राखेका थिए ।

 

नगर सामाजिक विकास समितिका संयोजक एवम् कार्यपालिका सदस्य भोला परियारले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शाखा प्रमुख खड्काले गरेका थिए । त्यस्तै शाखाले पर्सि बुधबारदेखि दुई दिवसीय सहकारी सचेतना तालिम पनि सञ्चालन गर्ने शाखाद्वारा जारी गरिएको कार्यक्रम तालिकामा उल्लेख गरिएको छ ।