झापा । पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात बढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर आठ अर्ब ६७ करोड २० लाख ६० हजार रुपैयाँबराबरको कृषिजन्य वस्तुको आयात भएको छ भने सात अर्ब ४१ करोड ८९ लाख तीन हजार बराबरको वस्तुको निर्यात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

 

सबैभन्दा बढी तीन अर्ब ९५ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ८०० मेट्रिक टन अलैँची निर्यात भएको छ । नेपालमा उत्पादित अलैँची भारत, बङ्गलादेश र रसिया निर्यात भएको कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले जानकारी दिए ।

 

उनले यो नाका भएर अलैँचीपछि दोस्रोमा चिया, तेस्रोमा मुसुरो दाल, अम्लिसो, अदुवा, जडीबुटीजन्य पदार्थ, प्लाइउड, तोरीको पिना, वन लसुन बढी मात्रामा निर्यात भएको पनि जानकारी दिए ।

 

संरक्षण अधिकृत साहुका अनुसार आयात हुनेमा सबैभन्दा बढी भटमासको सोयाविन रहेको छ । बङ्गलादेशबाट तीन अर्ब ८० करोड ७७ लाख ७५ हजार रुपैयाँ बराबरको ७० मेट्रिक टन सोयाविन आयात भएको छ । भटमासको सोयाविन पशुजन्य आहारामा बढी प्रयोग हुँदै आएको उनले जानकारी दिए ।

 

चालु आव २०७८/७९ को जेठ मसान्तसम्ममा खाद्यान्न ९८ करोड ४३ लाख ६९ हजार, दलहन (गेडागुडी) एक अर्ब ३३ करोड ८१ लाख १४ हजार, ताजा तरकारी १४ करोड ७१ लाख ९० हजार, ताजा फलफूल ४७ करोड ७७ लाख २२ हजार, मसलाजन्य वस्तु एक अर्बभन्दा बढीको आयात भएको उनले बताए ।