झापा । काँकडभिट्टा नाकाबाट भन्सार छलेर भित्राएको अवैध कपडा प्रहरीले यात्रुवाहक बसको डिकीबाट बरामद गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूह र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले आज बरामद गरेको हो ।

 

झापाको कमल गाउँपालिका ३ मा आज बिहान साढे ११ बजे विशेष सूचनाको आधारमा पूर्वी नाका काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को १ ख ६४३३ नम्बरको यात्रुवाहक बसको डिकीमा लुकाइछिपाई राखेको अवस्थामा उक्त लत्ताकपडा बरामद गरेको प्रहरीले जनाएको छ ।

 

बरामद लत्ताकपडामा साडी, कुर्ता, कुसन कपडा, सटिङ, सुटिङ लगायत विभिन्न प्रकारका अन्दाजी २ लाख मूल्यबराबरको बरामद गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको हो ।

 

अवैध कपडासँगै ओसारपसारमा संलग्न मोरङ उर्लाबारीकी ५० वर्षीया तारा रिजाजलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद सामानसहित रिजाललाई आवश्यक कारबाहीका लागी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको प्रहरीले जनाएको छ ।