शनिश्चरे । अर्जुनधारा नगरपालिकाको ११औं नगरसभा शनिबार सम्पन्न भएको छ । गत असार १० गतेदेखि सुरु भएको नगरसभामा पेश भएको अनुमानित बजेट र केही विधेयक पारित गरेको छ ।

 

नगर प्रमुखका सचिवालयले दिएको जानकारी अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४को दफा ७१ को उपदफा १ बमोजिम सभामा पेश भएको आगामी आर्थिक वर्ष ०७९/०८०को अनुमानित बजेट र चार वटा विधेयक पारित गर्दै उक्त नगरसभा सम्पन्न भएको हो ।

 

सभाबाट पारित भएका विधेयकहरुमा ‘अर्जुनधारा नगरपालिकाको आर्थिक विधेयक, २०७९’, ‘अर्जुनधारा नगरपालिकाको विनियोजन विधेयक, २०७९’, ‘नगर प्रहरी व्यवस्थापन ऐन्, २०७७ पहिलो संशोधन, २०७९’ र अर्जुनधारा नगरपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक, २०७९ रहेका छन् ।

 

त्यस्तै कार्यपालिकालाई सभामार्फत् जनताप्रति उत्तरदायी बनाउन र कार्यपालिकाका काम कारवाहीको निरन्तर निगरानी गर्न सभाले अर्थ तथा सार्वजनिक लेखा समिति, विधायन समिति, सामाजिक समिति, सुशासन तथा स्थानीय सेवा समिति र कृषि, पर्यटन, पूर्वाधार तथा प्राकृतिक स्रोत समिति गठन गरेको छ ।

 

त्यसैगरी सभाले अर्जुनधारा नगरपालिका न्यायिक समिति कार्यविधि सम्बन्धी ऐन्, २०७८ बमोजिम न्यायिक समितिले सभाबाट अनुमोदन गराउनुपर्ने मेलमिलापकर्ताको सूची अनुमोदन गरेको छ । अनुमोदन भएको सूचीमा ३५ जना मेलमिलापकर्ताको नाम उल्लेख गरिएको छ ।

 

नगर प्रमुख गोम्देनको अध्यक्षतामा आयोजित सभामा उपप्रमुख एवम् न्यायिक समितिकी संयोजक खड्गमाया पराजुलीले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।