बिर्तामोड । झापाको बिर्तामोडमा सेवक बिजनेस प्रालिले अनलाइन सवारी सेवा ‘सेवक’ सञ्चालनमा ल्याएको छ । प्रदेश नम्बर १ का यात्रुलाई लक्षित गरि तीन जना युवा व्यवसायीले आजदेखि अनलाइन सवारी सेवा सेवक सञ्चालनमा ल्याएका हुन् ।

 

यसका सञ्चालकमा सन्तोष मगर, दीपक चौहान र तिलक राई रहेका छन् । काठमाडौँमा अनलाइन सवारी सेवा प्रदायक पठाओ, इनड्राइभ जस्तै सेवकले आफ्नो सेवा प्रदान गर्ने सञ्चालकहरुको भनाइ छ । यो सेवा बिर्तामोड, काँकरभिट्टा, दमक, इटहरी, धरान, विराटनगरमा उपलब्ध हुनेछ । पहाडी जिल्लाका ठुला सहरमा पनि सेवा विस्तारका लागि छलफल चलिरहेको सञ्चालकले बताएका छन् ।

 

सञ्चालक दीपक चौहानले समय र दूरीका आधारमा भाडादर निर्धारण गरिएको बताए । यो सेवा लिनका लागि यात्रुले आफ्नो मोबाइलमामा सेवक प्रोभाइडर एप डाउनलोड गर्नु पर्नेछ । ‘मोबाइल एपमार्फत् सेवाग्राहीले गाडी बुकिङ गर्न सक्नुहुन्छ’, उनले भने, ‘सवारी साधन आवश्यक भएकाहरुले घरमै बसेर सेवा लिन सक्नेछन् ।’

 

अर्का सञ्चालक तिलक राईले अनलाइनमार्फत मोटरसाइकल, अटो र ट्याक्सी बुक गर्न सकिने बताए । उनले विद्युतीय सवारीलाई प्राथमिकता दिएर भाडादर घटाउने आफूहरुको योजना रहेको पनि सुनाए । त्यस्तै, अर्का सञ्चालक सन्तोष मगरले आफूहरुसँग हाल २ सय वटा मोटरसाइकल, ५० वटा अटो र ८० वटा ट्याक्सी सेवा दिनका लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।

 

आज एक कार्यक्रमका बीच बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले सेवकको कार्यालय उद्घाटन गरे । अध्यक्ष शिवाकोटीले पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा अनलाइन सवारी सेवा सञ्चालनमा आउनु सुखद भएको भन्दै नयाँ सोच भएका युवाहरुले नयाँ व्यापार सञ्चालन ल्याएकोमा शुभकामना पनि दिए ।

 

उनले भने, ‘यस्ता कामको राज्यले सहयोग गर्नु पर्छ, स्मार्ट सिटी बनाउन स्मार्ट व्यवसायको भूमिका पनि महत्वपूर्ण हुन्छ ।’ यात्रु ठगिने र लुटिने समस्या सेवकले हटाउन सकोस् भन्दै उहाँले सवारी चालक जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

 

त्यस्तै, उवासंघ बिर्तामोडका उपाध्यक्ष राजु न्यौपानेले गाडी भाडामा मनपरी रहेकाले सेवक सञ्चालनमा आएसँगै भाडादरमा एकरुपता आउनुका साथै यात्रुले लाभ पाउने विश्वास व्यक्त गरे । ‘अहिले गाडीहरुले मनलाग्दी पैसा असुल्ने क्रम बढ्दो छ’, उनले भने, ‘यसले नगरबासी लाभान्वित हुने विश्वास छ ।’

 

राष्ट्रिय स्वतन्त्र पार्टी बिर्तामोडका संयोजक शम्भूप्रसाद भण्डारीले सेवकको सफलताको कामना गरेकाे कार्यक्रममा उबासंघ बिर्तामोडका सचिव कुशल खतिवडा, सदस्य जीवन खड्का लगायतको उपस्थिति रहेको थियो ।