झापा । भारतको भुवनेश्वरमा साफ यू-२० च्याम्पियनसिप सोमबारदेखि सुरु हुँदैछ र त्यसको पहिलो खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । कालिंगा स्टेडियममा हुने खेलअगाडि नेपाली टिमले प्रि–म्याच कन्फ्रेन्समा आफूहरू प्रतियोगिताका लागि पूर्णतः तयार रहेको र राम्रो नतिजाको अपेक्षा रहेको दाबी गरेको छ ।

 

त्यस अवसरमा नेपाली टिमका कप्तान आयुष घलानले माल्दिभ्सविरुद्ध तीनै अंककै लागि खेल्ने बताएका छन् । उनले भनेका छन्, ‘हामीले यो प्रतियोगिताका लागि मिहिनेत गरेका छौं । हामीलाई गुमाउनु केही छैन, त्यसैले दबाबविना खेल्नेछौं । हाम्रो संघर्ष अन्तिम समयसम्म कायम रहनेछ ।’ राष्ट्रिय टिमका नियमित सदस्यसमेत रहेका आयुषको कप्तानीले आफ्नो चुनौती पेस गर्न लागेको हो ।

 

प्रशिक्षक मेघराज केसीले पनि टिमको तयारी राम्रो रहेको हुनाले नतिजा पनि राम्रो आउने विश्वास पोखेका छन् । ‘हामीले साढे एक महिना तयारी गरेका छौं । हाम्रो टिम राम्रो छ । तर उमेर समूहको फुटबलमा अन्य टिमबारे हामीलाई पर्याप्त जानकारी छैन्,’ केसीले भने । उनका समकक्षी अहमद साकिरले पनि नेपाली टिमबारे प्रि-म्याच कन्फ्रेन्समा अनभिज्ञता जनाए ।

 

खेल नेपाली समयअनुसार साँझ सवा चार बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल र माल्दिभ्ससँगै भारत, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । राउन्ड रोबिनका आधारमा चल्ने प्रतियोगितामा नेपालले बुधबार श्रीलंकाको सामना गर्नेछ ।

 

त्यसपछि नेपालले आइतबार भारत र मंगलबार बंगलादेशको सामना गर्नेछ । लिग चरणको समाप्तिमा शीर्ष दुई स्थानमा रहने टिमले फाइनल यात्रा तय गर्नेछन् । इकान्तिपुरबाट