झापा । नेपालले साफ यू-२० च्याम्पियनसिपमा सोमबार सानदार विजयी सुरुवात गरेको छ । भारतको ओडिसास्थित कलिंगा रंगशालामा भएको उद्घाटन खेलमा नेपालले मादिल्भ्सलाई ४-० ले हराएको हो ।

 

यो जितपछि नेपालको फाइनल पुग्ने सम्भावना जीवन्त बनेको छ । हारले माल्दिभ्सको स्थिति भने कमजोर भएको छ । नेपालले एकपछि अर्को उत्कृष्ट आक्रमण बुनेको खेलमा नेपालको जित अन्तर बढी हुन सक्ने थियो ।

 

नेपालले पहिलो हाफमा एक गोलले अगाडि थियो । नेपालले दिपेश गुरुङको गोलले अग्रता लिएको थियो । उनले ४२औं मिनेटमा २५ यार्डबाट शक्तिशाली प्रहार गर्दै गोल गरे । कप्तान आयुष घलानको फ्रि-किकमा माल्दिभ्सका गोलरक्षक साइहन अलीले पञ्च गरेयताको रिबाउन्डमा दिपेशले गोल गरेका हुन् ।

 

खेलको ५८औं मिनेटमा सुगम सुवालले दोस्रो गोल थपे । उनले माल्दिभ्सका गोलरक्षकविरुद्ध वान भर्सेस वानको स्थितिमा उत्कृष्ट गोल थपे । तेस्रो गोल भने कृतिशरत्न छुन्जुले पेनाल्टीबाट ६२औं मिनेटमा गरे । आयुषमाथि पेनाल्टी एरियामा भएको फलमा नेपाललाई पेनाल्टी प्राप्त भएको थियो ।

 

त्यसमै उनले माल्दिभ्सका गोलरक्षकलाई कुनै मौका नदिएर सजिलै गोल गरे । चौथो गोल मनग्य नकर्मीको नाममा रह्यो । उनले इन्ज्युरी समयमा गोल गरे । राउन्ड रोबिनको आधारमा चल्ने प्रतियोगितामा नेपालले अब बुधबार आफ्नो दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ र त्यसमा जित निकालेर आफ्नो स्थिति अझ बलियो बनाउन सक्छ ।