झापा (एजेन्सी) । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले ३४ वर्षीय दिनेश खतिवडालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार झापाका खतिवडालाई काठमाडौंको मीनभवनबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

 

दक्षिण कोरिया पठाइदिन्छु भन्दै नगद ७ लाख ५० हजार रुपियाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–६ सीतापाइला बस्ने झापाको अर्जुनधारा नगरपालिका ८ घर भएका खतिवडालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका ९ मुक्पाटर घर भई काठमाडौं महानगरपालिका १५ स्वयम्भु बस्ने ४० वर्षीय पुरुषलाई दक्षिण कोरियामा प्रतिष्ठित होटलमा मासिक २ लाख ५० हजार रुपियाँ तलव पाउने गरी काम लगाइ दिने झुठो आश्वासन खतिवडाले दिएका थिए ।

 

यसका लागि नगद १० लाख रुपियाँ लाग्छ भनि प्रलोभनमा पारी नगद ७ लाख ५० हजार रुपियाँ लिई फरार रहेका खतिवडालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।