कास्की । पोखरा महानगरपालिका वडा नम्बर २६ अर्घौँचोकमा रहेको एनएमबी बैंकको एटीएम मेशिन फोरेर पैसा चोरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरीले चोरी गरेको आरोपमा पूर्वी नवलपरासी देवचुली नगरपालिका ५ घर भइ पोखरा ३० डुँडाको मुख बस्ने २१ वर्षीय अनिश तामाङलाई पक्राउ गरेर आज आइतबार सार्वजनिक गरेको हो ।

 

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको संयुक्त अनुसन्धान टोलीले भारत भाग्दै गरेको अवस्थामा रुपन्देही बेलहिया नाकाबाट तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् एसपी अजय केसीले जानकारी दिए ।

 

तामाङले पोखरा २६ अर्घौँचोकमा रहेको एनएमबी बैंकको एटीएम विना हातहतियार खोलेर त्यहाँ भएको १४ लाख ७१ हजार पाँच सय रुपैयाँ चोरी गरेका थिए ।

 

वैशाखयता पोखरामा चार पटकसम्म एटीएम मेशिन फोरेर रकम निकाल्ने प्रयास भएको थियो । पक्राउ परेका तामाङलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँकासम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।