विराटनगर । मोरङमा मिटरब्याजीविरुद्ध ३७ वटा उजुरी परेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबारसम्ममा ३७ जनाले उजुरी दिएका हुन् । मिटरब्याजको जालो तोड्ने उद्देश्यका साथ सरकारले पीडितलाई उजुरी दिन आह्वान गरेको थियो । सरकारले उजुरी दिने अन्तिम म्याद आइतबारसम्म मात्रै तोकेको थियो । मिटरब्याजीविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदलले नै गठन गरेको छ ।

 

मिटरब्याजको धन्दा चलाउने गिरोहले सम्पत्ति हडपेर र ऋण दिएको नाममा अत्यधिक पैसा असुलेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि सरकारको ध्यानआकर्षण भएको हो ।

 

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार प्राप्त भएका उजुरीका बारेमा गृह मन्त्रालयलाई जानकारी गराइसकिएको छ । ‘मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै ३७ जनाले उजुरी दिएका छन्’, उनले भने, ‘यसका बारेमा गृहमा जानकारी दिएर जिल्ला प्रशासनले समेत आवश्यक अध्ययन गरिरहेको छ ।’

 

प्रजिअ दाहालका अनुसार कतिपयले उजुरी स्वरूप निवेदन मात्रै दिएका छन् । कतिपयले भने केही प्रमाणसहित उजुरी दिएको उनले बताए । ‘केहीबाट ठाडो निवेदन मात्रै परेको छ’, उनले भने, ‘केहीले भने ऋण लिने क्रममा गरेका कागजात तथा विभिन्न प्रमाणसहित उजुरी दिएका छन् ।’

 

प्रजिअ दाहालका अनुसार एकै जना मिटरब्याजीबाट धेरै जना सर्वसाधारण पीडित भएको उजुरी पनि परेको छ । ‘धेरै जना मिटरब्याजीले एकै जनालाई मात्रै पनि पीडित बनाएका रहेछन्’, उनले भने, ‘ऋण र सापटी भनेर लिएको पैसामा मिटरब्याज लगाएर घरजग्गा तथा अन्य सम्पत्ति हडपेका घटना रहेको पाइयो ।’

 

ऋण लिएको पैसा ब्याजसहित तिरिसक्दा पनि जग्गा तथा सम्पत्ति फिर्ता नगरेको उजुरीसमेत परेको छ । कतिपयले ऋण दिने नाममा सर्वसाधारणको जग्गा नै आफ्नो नाममा पारेको र पैसा पनि असुलिरहेको पाइएको प्रजिअ दाहालको भनाइ छ ।

 

‘सरकारले आह्वान गरिसकेपछि मिटरब्याजबाट पीडित बनेकाहरुले उजुरी दिएका छन्’, उनले भने, ‘कारबाही कसरी अघि बढाउने भन्ने विषयमा गृह मन्त्रालयले आवश्यक निर्णय लिन्छ ।’

 

दाहालका अनुसार सरकारले उजुरीका लागि आह्वान गर्नुअघि पनि मिटरब्याजका कारण पीडित भएको भनेर धेरै सर्वसाधारण उजुरी लिएर आउने गरेका थिए । ‘सरकारले उजुरीका लागि दिएको अन्तिम समय सकिसकेको,’ उनले भने, ‘अब मिटरब्याजीविरुद्ध उजुरी लिने कि नलिने भन्ने निर्देशन माथिबाट आएको छैन ।’ अन्नपूर्ण पोष्टबाट