भद्रपुर । विगत एक महिनादेखि संचालन भइरहेको भद्रपुर महोत्सवमा गएराति झडप भएको छ । आयोजक समितिले खेलाएको हाउजीमा विवाद भएपछि आयोजक र सर्वसाधारणबीच झडप भएको हो ।

 

झडपमा परी केही घाइते भएका छन् । स्कुटी पुरस्कार रहेको हाउजी खेलमा आयोजकले धाँदली गरेको भन्दै सर्वसाधारणले आपत्ति जनाएपछि विवाद भएको हो । राति १० बजेसम्म मात्र मेला संचालन गर्न प्रशासनले अनुमति दिए पनि आयोजकले राति ११ बजे पछिसम्म चलाएको थियो । हाउजी खेलमा आयोजक समितिभित्रै पुरस्कार पार्नेगरी धाँधली गरेको आरोप मेला आयोजक समितिलाई शुरुदेखि नै लाग्दै आएको थियो ।

 

हाउजी खेलाउँदै गर्दा केही व्यक्तिहरुले मंचमै आएर हुलदंगा गर्न खोजेपछि विवाद भएको आयोजक भद्रपुर युवा परिवारका अध्यक्ष बिर्जु सहनीले बताए । धाँधली भएको भन्दै सर्वसाधारणले विरोध गर्दा आयोजकले कुटपिट गरेको जनाइएकोमा अध्यक्ष सहनीले आफूहरुले कुटपिट नगरेको दावी गरे । उनले हाउजीमा धाँधली नभएको दावीसमेत गरे ।

 

मेलामा राति लफडा भएको जानकारी प्रहरीलाई आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए । तर, उनले अहिलेसम्म कसैको उजुरी नपरेको र कसैलाई धरपकड पनि नगरिएको जानकारी दिए ।

 

गत साउन १५ गतेदेखि शुरु भएको मेलाले भदौ १५ गतेसम्मको अनुमति पाएको छ । शुरुमा १५ दिनका लागि अनुमति लिएकोमा पछि जिल्ला प्रशासन कार्यालयबाट थप १५ दिनको अनुमति आयोजक समितिले लिएको थियो । सो मेला बन्द गर्न आफूहरुले प्रशासनलाई आग्रह गरिसकेको डिएसपी पाठकले बताए ।