अर्जुनधारा । बडादसैँको अवसर पारेर नेपाल खेलकुद महासंघ (नेकोस) अर्जुनधारा नगर कमिटीको आयोजनामा आगामी असोज १० गते प्रथम जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

 

खेलकुद क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष हेमलाल परियारले जानकारी दिए । अर्जुनधारा ८ स्थित शनिश्चरे माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता आयोजना गरिने भएको छ ।

 

विभिन्न तौल समूहमा पुरुष तथा महिलाबीच हुने प्रतियोगितामा जिल्लास्थित २२ वटा डोजाङका १५० जना खेलाडीको सहभागिता रहने महासंघका कोषाध्यक्ष एवम् प्रतियोगिताका संयोजक विवेक गिरीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न २ लाख ७५ हजार खर्च हुने अनुमान गरिएको छ । विभिन्न दाता र संघसंस्थाको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरिने पनि अध्यक्ष परियारले जानकारी दिए ।

 

प्रतियोगिता अन्र्तगत पुरुषतर्फ ३३ तल, ३७ तल, ४१ तल, ४५ तल, ४९ तल, ५४ तल र ५८ तल तथा महिलातर्फ ३७ तल, ४१ तल, ४४ तल, ४७ तल र ५१ तलको तौल समूहमा प्रतिष्पर्धा हुनेछ । त्यसैगरी पुरुष र महिला जुनियर पुम्से पनि हुने बताइएको छ ।

 

महासंघका अध्यक्ष परियारको अध्यक्षता र महासंघका केन्द्रीय सचिवालय सदस्य रविन खरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षक जीतेन मेचे, झापा जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष कुमार भट्टराई, बाह्रघरे सितोरियो कराते डोजोका अध्यक्ष नारद नेपाललगायतले मन्तव्य राखेका थिए ।

 

कार्यक्रममा महासंघ प्रदेश कमिटीका सदस्य जीवन राई, झापाका अध्यक्ष भवानी बराललगायतले प्रतियोगिताको विषयमा जानकारी गराएका थिए । महासंघका उपाध्यक्ष गोविन्द खतिवडाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव आनन्द कट्टेलले गरेका थिए ।