काठमाडौं । श्रीलंकामाथि शानदार जित निकाल्दै नेपालले जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । घरेलु मैदानमा सोमबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६-० गोलको फराकिलो जित निकाल्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन् । यस्तै कुमारी घिसिङ, सरु लिम्बू, अमृता जैशी र दिपा शाहीले एक-एक गोल गरिन् । खेलको नवौं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । रश्मीले हिराको क्रसमा हेडर मार्फत गोल गरिन् ।

 

 

खेलको ११औं मिनेटमा सरुले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाइन् । खेलको १७ औं मिनेटमा अमृताले गोल गर्दा नेपाल ३-० ले अघि रह्यो । पहिलो हाफको इन्जुरी समयमा दिपाले गोल गरेपछि नेपालले पहिलो हाफमा ४-० को अग्रता बनायो ।

 

खेलको ७६ औं मिनेटमा अमिषाले गोल गर्दै नेपाललाई ५-० को अग्रता दिलाईन् । भुटानविरुद्ध डेब्यु गरेकी अमिषाले नेपालको लागि यो पहिलो गोल हो । त्यसपछि खेलको इन्जुरी समयमा अमिषाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६-० को जित दिलाइन् ।

 

यस जितसँगै नेपालले अपराजित रहँदै अन्तिम चारमा स्थान बनाएको छ भने नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश पनि गरेको छ । समूह ‘बी’ को नेपालले २ खेलमा ६ अंक जोड्यो । नेपालले पहिलो खेलमा भुटानलाई ४-० गोल अन्तरले हराएको थियो।

 

 

नेपालको जितसँगै भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । पहिलो खेलमा श्रीलंकालाई भुटानले ५-० गोल अन्तरले हराएको थियो । भुटानले २ खेलमा ३ अंक जोड्यो । दुई खेलमा पराजित रहदै अंक विहीन बनेको श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ ।

 

समूह ‘ए’ बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । माल्दिभ्स र पाकिस्तान भने बाहिरिसकेको छ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।