एजेन्सी । नेपाली राष्ट्रिय यू १७ फुटबल टोलीले साफ यू १७ च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ । घरेलु टोली श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपालले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

 

खेलको सुरुवाती मिनेटदेखि नै नेपालले घरेलु टोली श्रीलंकालाई दबाबमा राखेको थियो । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल थप्यो । अब नेपालले फाइनलमा भारतको सामना गर्नेछ । फाइनल खेल बुधबार हुनेछ ।

 

भारतले सोमबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई २-१ ले पराजित गरेको थियो । नेपाल समूह चरणमा भुटानलाई २-१ र भारतलाई ३-१ ले पराजित गर्दै अन्तिम चारमा पुगेको थियो ।

 

कप्तान प्रशान्त लक्षमले नेपाललाई २१ अ‍ौं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । सुवास बमलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । नेपालले २३ अ‍ौं मिनेटमा अग्रता दोब्बर पार्यो । हरिष राज भट्टले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे ।

 

३० अ‍ौं मिनेटमा सुबासले नेपाललाई ३-० ले अघि बढाए ‌‌। उनले पेनाल्टी क्षेत्रभित्र पहिलो टचमा बल सेट गर्दै तीन डिफेन्डरको अघिबाट फिनिस गरे । पहिलो हाफको ३७ अ‍ौं मिनेटमा निरज कार्कीले नेपाललाई ४-० ले अघि बढाए । उनले डिफेन्स लाइन र गोलरक्षक बिट भएपछि दबाबमा रहँदा पेनाल्टी क्षेत्रको दायाँ भागबाट गोल गरे ।

 

दोस्रो हाफको ५१ औं मिनेटमा उनेश बुढाथोकीले गोल गर्दै नेपाललाई ५-० को अग्रता दिलाए । इन्ज्युरी समयमा सिजल राईले गोल गर्दै नेपालको आधा दर्जन गोल पूरा गरे । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको सशक्त प्रहार गोलरक्षकले बचाउने कुनै अवसर पाएनन् ।