काठमाडौं । बंगलादेश समूह विजेताको रुपमा छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३-० गोल अन्तरले हराउँदै बंगलादेश समूह विजेता बनेको हो ।

 

बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन् । यस्तै श्रीमोती सरकारले एक गोल गरिन्। बंगलादेशको यो जित ऐतिहासिक जितसमेत हो । महिला साफको इतिहासमा भारतले पहिलो पटक हार व्यहोरेको छ ।

 

साविक विजेताविरुद्ध खेलको १२औं मिनेटमा सोप्नाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । सरकारले २२औं मिनेटमा गोल गर्दा बंगलादेश २-० ले अघि रह्यो ।

 

खेलको ५३ औं मिनेटमा सोप्नाले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३-० को जित दिलाइन । यस जितसँगै बंगलादेश अपराजित रहँदै अन्तिम चारमा पुगेको छ ।

 

समूह विजेता बनेको बंगलादेशले समूह ‘ए’ मा ३ खेलमा ९ अंक जोड्यो । भारत ३ खेलमा ६ अंक जोडेर समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ ।

 

अब सेमिफाइनलमा बंगलादेशले भुटानको सामना गर्नेछ । भारतले नेपालको सामना गर्नेछ । समूह ‘बी’ मा नेपाल समूह विजेता र भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।