काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको समूह चरणअन्तर्गत मंगलबार भएको अन्तिम खेलबाट नयाँ मोड लिएको छ । खेलमा भारतले बंगलादेशसँग ३-० को हार व्यहोर्यो । साफ च्याम्पियनसिपकै इतिहासमा भारतले पहिलोपल्ट हार व्यहोरेको हो । यस्तै बंगलादेशले पनि पहिलोपल्ट अपराजित रहँदै भारतलाई पराजित गरेको हो । यसअघिका संस्करणमा अपराजित हुँदै भारतले उपाधि रक्षा गर्दै आएको थियो ।

 

तर, भारतको हारसँगै घरेलु टोली नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको निश्चित भएको छ । समूह ‘बी’ को विजेता नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता बनेको भारतलाई प्रतिद्वन्दी पाएको हो ।

 

नेपालकै विराटनगरमा भएको अघिल्लो संस्करणको साफको फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो । त्यस संस्करणमा भारतले नेपाललाई हराएर उपाधि जितेको थियो ।

 

नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल खेल शुक्रबार हुनेछ । खेल ५:३० बजे सुरु हुनेछ । यस्तै पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानको सामना गर्नेछ । जुन खेल दिउँसो १ बजे सुरु हुनेछ ।

 

 

बंगलादेशले समूह ‘ए’ को विजेता र भुटान ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा भेट पक्का गरेका हुन् । बंगलादेशसँग पराजय भोगेर नेपालसँग सहज प्रतिस्पर्धाका लागि परिणाम स्वीकार गरेको हुनसक्ने खेल विश्लेषकको अनुमान छ । नेपाललाई प्रतिद्वन्दीका रुपमा लिँदा भारतलाई सहज हुने उनीहरुको विश्लेषण छ ।