काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी अट्याकिङ मिडफिल्डर प्रिती राईलाई उम्ब्रो नेपालले प्रायोजन गरेको छ । उम्ब्रोले मंगलबार एक विज्ञप्ति निकाल्दै प्रितीलाई एक वर्षको लागि प्रायोजन गरिएको जनाएको छ ।

 

उम्ब्रोले प्रितीसँग एक वर्षको लागि ६ लाख बराबरको प्रायोजन सम्झौता गरिएको जनाएको छ । ‘खेलकुदको विकासका लागि उम्ब्रोले सधैं प्रतिबद्धता जनाएको छ । खेलप्रतिको मायालाई चिन्ने त्यो फुटबल हो, उम्ब्रो नेपालले यस खेललाई देशव्यापी रूपमा समर्थन र प्रवर्द्धन गर्न आफूलाई समर्पित गरेको छ। उम्ब्रो नेपालले नेपाल महिला खेलाडी प्रिती राईलाई प्रायोजन गरेको घोषणा गर्न पाउँदा हामी खुसी छौं’, विज्ञप्तिमा भनिएको छ ।

 

नेपाली फुटबल फस्टाउन उम्ब्रो नेपालले सधैं निरन्तर सहयोग गर्दै आएको समेत उम्ब्रोले विज्ञप्तिमा जनाएको छ । काठमाडौंमा सम्पन्न छैटौं महिला साफ फुटबलमा नेपालबाट प्रतिनिधित्व गरेकी प्रितीले उत्कृष्ट प्रदर्शन गरेपछि उम्ब्रोले प्रितीलाई प्रायोजन गरेको हो ।

 

उमेर समूहको राष्ट्रिय टिमबाट प्रतिनिधित्व गर्दै आएकी प्रिती सिनियर टिममा समेत उस्तै प्रभावशाली देखिएकी छिन् । गत शुक्रबार महिला साफको सेमिफाइनलमा भारतलाई पराजित गर्दा प्रितीको प्रर्दशन जबरजस्त देखिएको थियो ।

 

सानै उमेरमा महिला फुटबलको उनको उपस्थिति बलियो देखिएको छ । प्रितीकै असिस्टमा भारतविरुद्ध नेपालकी रश्मीकुमारी घिसिङले गोल गरेकी थिइन् । सोही गोलले नेपाललाई ऐतिहासिक जित दिलाउँदै महिला साफमा फाइनलमा पुर्याएको थियो ।

 

 

प्रितीले गत वर्षको भदौमा दशरथ रंगशालामा बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् । प्रितीले नेपालको यू-१५ र यू-१८ टोलीको कप्तानी गरिसकेकी छिन् ।

 

उम्ब्रो विश्व प्रख्यात खेलकुदको ब्राण्ड हो । नेपालमा उम्ब्रोका सामानहरु भाटभटेनी सुपर मार्केटका स्टोरहरुमा पाइन्छन् ।