ताप्लेजुङ । दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपाण्डा (रातो हाब्रे) संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण, रेबिजविरुद्धको खोप र भिटामिन दिइएको छ । कुकुरको आक्रमणबाट रेडपाण्डा असुरक्षित बन्दै गएको पाइएपछि कुकुरको बन्ध्याकरण, खोप, भिटामिन र जुकाको औषधि दिइएको हो ।

 

रेडपाण्डा पाइने क्षेत्र वा बासस्थान नजिकैका गाउँघरमा रहेका घरपालुवा तथा सामुदायिक कुकुरबाट रेडपाण्डामाथि आक्रमण हुने गरेको छ । कुकुरको आक्रमणका कारण दुर्लभ रेडपाण्डाको अस्तित्व थप सङ्कटमा पर्दै गएपछि रेडपाण्डा संरक्षण (जोगाउने) गर्ने उद्देश्यले कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान थालिएको हो ।

 

रेडपाण्डाको संरक्षणमा क्रियाशील संस्था रेडपाण्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले कुकुरको बन्ध्याकरण अभियान थालेको हो । रेडपाण्डाको संरक्षण गर्नलाई कुकुर नियन्त्रण गर्न आवश्यक देखिएपछि स्थानीय तहसँग समन्वय गरेर विगत छ वर्ष अघिदेखि नै बन्ध्याकरण अभियान थालिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए ।

 

रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सुरु गरिएको अभियानअन्तर्गत फुङ्लिङ नगरपालिका ११ फुरुम्बुमा १३ वटा कुकुरको बन्ध्याकरण गरिएको मञ्चले जनाएको छ । गतवर्ष ८५ वटा कुकुरको बन्ध्याकरण गरिएको राईले जानकारी दिए ।

 

बन्ध्याकरणसँगै कुकुरलाई रेबिजविरुद्ध खोप र भिटामिन पनि खुवाउन थालिएको छ । कुकुरलाई दिइने खोप र भिटामिनले पनि रेडपाण्डा संरक्षणमा सघाउ पुग्ने मञ्चले जनाएको छ ।