बिर्तामोड । यस वर्षको दीपावालीको अवसरमा रिलिजको तयारीमा रहेको चलचित्र ‘ महापुरुष’ को प्रोमोशनल टुर बिर्तामोडबाट सुरु भएकोछ । मंगलबार साँझ बिर्तामोडबाट सुरु भएको टुरको पहिलो दिन बिर्तामोडमा भब्य कन्सर्ट सम्पन्न गरिएको छ ।
बिर्तामोडस्थित वान स्टप मलको प्राङ्गणमा भएको कन्सर्टमा बिर्तामोडका दर्शकहरुको बाक्लो उपस्थिति थियो । ‘महापुरुष’को मुख्य कलाकारहरु हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, नायकनायिका अरुण क्षेत्री, अन्जना बराइली, कार्यकारी निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँको उपस्थिति रहेको कार्यक्रमलाई चर्चित कमेडियन सुमन कार्कीले सञ्चालन गरेका थिए ।
स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुतिबाट सुरु भएको कार्यक्रममा चलचित्रको नायकनायिका अरुण क्षेत्री र अन्जना बराइलीले प्रस्तुति दिएका थिए । यसैगरी कार्यक्रमको मुख्य आर्कषण चर्चित गायिका रचना रिमालको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए । रचनाले करिब आधा दर्जन गीतहरु गाएर स्टेज तताएकी थिइन् ।
रचनाले गीत गाउँदै ‘महापुरुष’को प्रचारप्रसारमा जोड दिएकी थिइन् भने रिलिज मिति पनि बताइन् । उनले फिल्म हेर्न जान आग्रहसमेत गरेकी थिइन् । उता मुख्य कलाकार हरिवंश आचार्य र गौरी मल्लले हरिवंशकै गीत गाएर स्टेजमा प्रवेश गरेका थिए ।
उनीहरुले पनि कार्तिक ११ गते सम्झाउँदै उपस्थित दर्शकको भिडलाई ‘महापुरुष’को बारेमा जानकारी गराएका थिए । हरिवंशले फिल्मको मुख्यपात्र नै आफू भएकोले मात्र नभएर यो फिल्म एकदमै राम्रो बनेका कारण फिल्मको बारेमा बताउँदै चुलो निम्तो दिन झापा आएको बताए ।
महापुरुषको टिम दिनभर दमकमा वय्स्त रह्यो । टिम दमकमा प्रेस मिट, हल भिजिट र स्कुल भिजिटमा व्यस्त भएको थियो । टुर आज बुधबार इटहरी र विराटनगरमा प्रोमोशनमा व्यस्त हुनेछ । हिजाेदेखि सुरू प्राेमाेशनल टुर यही ३० गते सकिनेछ । टुरले नेपालका ७ सहरमा चलचित्रकाे प्राेमाेशन गर्ने भएकाे छ ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको अभिनय रहेको छ ।