झापा । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका झापाका १५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।

 

उम्मेदवारी फिर्ता लिनेहरुमा प्रतिनिधिसभाका ७ र प्रदेशसभाका ८ जना उम्मेदवार रहेका छन् । उम्मेदवारी फिर्ता लिनेहरुमा झापा क्षेत्र नं १ बाट राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने सन्तराज कार्की, १ को प्रदेश ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिने गीताप्रसाद अधिकारी, राजन चिमरिया, क्षेत्र नं २ मा राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने कमलप्रसाद खरेल, स्वतन्त्र उम्मेदवारी दिने अर्पण बस्नेत, क्षेत्र नं ४ मा राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने विजयप्रसाद राजवंशी रहेका छन् ।

 

यस्तै, स्वतन्त्र उम्मेदवारी दिने खेम नेपाल, ४ को प्रदेश ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिने भरत श्रेष्ठ रहेका छन् । त्यस्तै क्षेत्र नं ५ मा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नं ५ मा प्रतिनिधिसभा निर्वाचनतर्फ २ जना तथा ५ को ‘क’ मा एकजना र ‘ख’ मा ४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

क्षेत्र नं ५ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिने सुलोचना राजवंशी, विष्णुप्रसाद सिग्देल, प्रदेशतर्फ ५ को ‘क’मा स्वतन्त्र उम्मेदवारी दिने इन्द्रबहादुर न्यौपाने, ५ को ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिने वेदनिधि गौतम, दिपेन्द्र तिवारी, राजन चापागाई र राप्रपा नेपालका उम्मेदवार वासुदेव भट्टराईले उम्मेदवारी फिर्ता लिएका हुन् । झापामा २०७ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

 

प्रतिनिधिसभा निर्वाचनका लागि १०१ र प्रदेशसभा निर्वाचनका लागि १०६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगले आगामी मंसिर ४ को निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिने समय दिएको थियो ।