बिर्तामोड। अर्जुनधारा ११ बसपार्क एरियामा २५ वर्षीय नवीन्द्र गुरुङको हत्यापछि फरार रहेका हत्या आरोपी एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नंं १० का कुमार सुब्बा भन्ने कुमार आङदम्वे रहेका छन् । उनलाई काँकडभिट्टास्थित एक चिया दोकानबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी रुगमबहादुर कुँवरले बताए । फरार रहेका ती व्यक्तिलाई डिएसपी कुँवर नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको हो ।

 

दसैँको नवमीको दिन तास खेल्दै गरेको अवस्थामा पैसा हारजितको विषयलाई लिएर भएको घटनामा संलग्न इलाम नगरपालिका वडा नं ९ स्थायी घर भई अर्जुनधारा वडा नं ११ स्थित ताप्लेजुङ इलाम होटेलका सचालक ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, सोही होटेलका स्टाफ २१ वर्षीय अमृत आचार्य र पाँचथर फालेलुङ ७ स्थायी घर भई होटेलका स्टाफ आचार्यकी श्रीमती २३ वर्षिया विमला राईलाई असोज २० गते नै पक्राउ गरी कानुनी कार्वाही अघि बढाएको डिएसपी कुँवरले जानकारी दिए ।

 

होटेलको पहिलो तलामा होटेलका सञ्चालक अधिकारी, होटेलका स्टाफ आचार्य, मृतक गुरुङ र कुमार सुब्बाबीच मादक पदार्थ सेवन गरी तास खेल्दै गरेको अवस्थामा पैसा हारजितको विषयलाई लिएर विवाद उत्पन्न भई झैँझगडा भएको थियो ।