ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका १ तेल्लावुङबाट वडा नम्बर ५ काम्माङ जाँदै गरेको ५६५५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकाघरका दाजुभाइसहित चार जनाको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार मंगलबार राति साढे १२ बजेतिर ताप्लिङ खोल्सामा ट्याक्टर पल्टिएको थियो । मृत्यु हुनेमा वडा नम्बर ५ कामसाङका ३१ वर्षीय चालक पासाङ शेर्पा र उनका २४ वर्षीय भाइ फुर्वा शेर्पा रहेका छन् ।

 

उनीहरू आमा बिरामी भएपछि ढुङगेसाँघुबाट ट्याक्टर लिएर घरतर्फ जाँदै गरेको अवस्थामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

 

त्यस्तै ट्याक्टरमा सवार वडा नम्बर ४ ओदकका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लाकी शेर्पाको पनि घटनास्थलमै मृत्यु भएको डीएसपी राईले जानकारी दिए ।

 

घटनास्थलमा साँघु प्रहरी चौकीबाट र सदरमुकाम फुङलिङबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली गएको राईले बताए । प्रहरीको टोली पुगेपछि विस्तृत विवरण आउने जिल्ला प्रहरी कार्यालयले जनाएको इकान्तिपुरमा समाचार छ ।