इलाम । व्यावसायिक तरकारी खेती हुने इलामको सूर्योदय नगरपालिकामा कृषि बालीको खरिद बिक्री गर्ने थोक बजारको अभाव रहेको छ ।

 

थोक बजार नहुँदा पूर्वी इलामका किसानले कृषि बाली बिक्री गर्न मेची राजमार्गको सहारा लिनुपर्ने बाध्यता रहेको छ । इलाम क्षेत्र १ को केन्द्र रहेको फिक्कल बजारमा माइजोगमाइ, सन्दकपूर, इलाम नगरपालिका र सूर्योदय नगरपालिकाभित्रका किसानबाट तरकारी संकलन हुने गर्छ ।

 

सूर्योदय नगरपालिका इलामकै व्यावसायिक तरकारी खेती हुने ठाउँ हो । आलु, अकबरे खोर्सानी, स्कुस, बिइ र काँक्राको सूर्योदय नगरपालिकाभित्रका किसानको आम्दानीको मुख्य श्रोत नै हो । तर, सूर्योदय नगरपालिकाको अर्थतन्त्रको मुख्य आधार कृषि बालीको खरिद बिक्री गर्ने थोक बजार छैन । स्थानीय सरकार सूर्योदय नगरपालिकाले पनि आफ्नो पहिलो कार्याकालमा तरकारीको थोक बजार बनाउन चासो दिएन ।

 

जसका कारण व्यवसायीले राजमार्गलाई नै किसानले घरगाउँबाट ल्याएको तरकारी खरिद बिक्रीको बजार बनाएका छन् । खरिद बिक्रीको थोक बजार नहुँदा धेरै व्यवसायीले किसानबाट संकलन भएको तरकारी तराईका बजारमा पुर्याउने गरेका छन् ।

 

सूर्योदय नगरपालिकाको केन्द्र रहेको फिक्कल बजारमा हरेक बिहीबार हाटबजार लाग्छ । मेची राजमार्ग फिक्कल बजार भएर उकालिन्छ । सोही राजमार्गमा गाउँबाट किसानले आफूले उत्पादन गरेको तरकारीको थोक बिक्री गर्छन् ।

 

२५ वर्ष अघिदेखि तरकारीको थोक बजार सडक भएको राजमार्ग व्यवस्थित नबन्दा किसानसँगै व्यवसायीहरु समेत समस्यामा छन् । किसानको अर्थतन्त्रको मुख्य आधार भएको तरकारीको थोक बिक्री सडकमै हुँदा नगरपालिकाले भने कर संकलनको माध्यम बनाएको छ । इलाम क्षेत्र १ को केन्द्र रहेको फिक्कल बजारमा माइजोगमाइ, सन्दकपूर, इलाम नगरपालिका र सूर्योदय नगरपालिकाभित्रका किसानबाट तरकारी संकलन हुन्छ ।

 

निम्न आय भएका किसानको आम्दानीको श्रोत तरकारीको व्यवस्थित बजार बनाउन सके सूर्योदय नगरपालिका मात्रै नभएर इलामको अर्थतन्त्रमा समेत सहयोग पुग्ने देखिन्छ । इमेज खबरबाट