शनिश्चरे । झापा अर्जुनधारा नगरपालिकाका ८ नम्बर वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको पहलमा अर्जुनधारा जलेश्वरधाम जाने सडकमा बत्ती जडान गरिएको छ । यसअघि नै शनिश्चरे बजार क्षेत्रमा सडक बत्तीको व्यवस्था भए पनि मन्दिर जाने बाटोमा अन्धकार थियो ।

 

छठ पर्वको अवसरमा सोही बाटो भएर पूजास्थल रहेको बिरिङ तथा फूलमती खोलामा जाने भएकाले पनि आजै सडक बत्ती जडान गरिएको उनको भनाइ छ । उक्त सडकमा अघिल्लो साँझ अन्धकार देखेपछि आफ्नै पहलमा सडक बत्तीको व्यवस्था गरिदिएको वडाध्यक्ष उप्रेतीले बताए ।

 

वडाध्यक्षको पहलमा अर्जुनधारा ८ को सरगम होटल (बाह्रदशी खोलाकिनार)देखि अर्जुनधारा ७ को धामहुँदै पिपल चोकसम्म ६ वटा सडक बत्ती जडान गरिएको छ । उनका अनुसार ८ नम्बर वडा कार्यालयको नाममा रहेको मिटरबाट उक्त विद्युत् वितरण गरिएको छ । विद्युत् सामग्रीको भने उनी आफैँले खर्च व्यहोरेका छन् ।

 

अर्जुनधारा नगरपालिका क्षेत्रमा रहेको पूर्वको पशुपतिनाथले परिचित जलेश्वरधाम साझा तथा ऐतिहासिक धार्मिक धरोहर भएकाले पनि यसको संरक्षण गर्न सबैको दायित्व बोध गरेर आफ्नो खर्चमा सडक बत्ती जडान गरिदिएको उनले सुनाए ।

 

 

उनले भने, ‘मन्दिर ७ नम्बर वडाको मात्र नभएर सिंगो नगरको हो, हामी सबैले यसको संरक्षणसँगै विकास निर्माणमा पनि सहकार्य गर्न जरुरी छ ।’ उनले जनअपेक्षाअनुरुप नै वडादेखि बाहिर पनि काम गर्दै आएको दाबी गरेका छन् ।

 

छठ पर्वसँगै नजिकिँदै गरेको बाला चतुर्दशी, महाशिवरात्रिलाई पनि मध्यनजर गरेर सडक बत्तीको व्यवस्था मिलाइएको उनले बताए । उनका अनुसार सडक बत्ती जडानपछि बिहान तथा साँझमा हिँडडुल गर्ने व्यक्तिलाई सहज हुनाका साथै चोरी डकैती नियन्त्रणमा पनि मद्दत मिल्ने सुनाए ।

 

सडक बत्तीबाट सिसी क्यामेराबाट निगरानी गरिनुका साथै सडक दुर्घटनामा समेत न्यूनीकरण हुने वडाध्यक्ष उप्रेतीले अपेक्षा लिएका छन् । यसअघि निजी पहलमा अर्जुनधारा ७ का नारायण चोकमा सिसी क्यामेरा जडान गर्नुका साथै फ्रि-वाइफाइ पनि जडा गरिदिएको उनले बताए ।

 

यस्तै, अर्जुनधारा ७ र ८ मा पर्ने गढी गाउँनजिकको उत्तरमा गाउँमा पनि सडक बत्ती जडान गरिसकिएको छ । उक्त स्थानको ७ ठाउँमा सडक बत्ती जडान गरिएको छ । यस क्षेत्र हात्ती प्रभावित क्षेत्र मानिन्छ ।