झापा । मोरङको उर्लाबारीमा छुरा प्रहार गरी बालकको हत्या गरेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जना किशोरलाई पक्राउ गरेको छ। उर्लाबारी नगरपालिका ७ स्थित मावा खोलामा छठ हेर्न पुगेका बेला झापा दमक नगरपालिका १० का १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको थियो।

 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार पक्राउ परेका सबै १८ वर्षमुनिका छन्।

 

उर्लाबारी ६ र ७ का ५ जना किशोर मिलेर आइतबार राति १०ः२५ बजेतिर दियुसलाई छुरा प्रहार गरेको श्रेष्ठले बताए। उनका अनुसार बायाँ कोखादेखि तलको भागमा छुरा प्रहार गरिएका दियुसको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा सोमबार बिहान ४ः५० बजेतिर मृत्यु भएको थियो ।

 

घटनापछि पाँचै जना फरार थिए। जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय उर्लाबारीको संयुक्त टोलीले हत्यामा प्रयोग गरिएको छुरासहित उनीहरूलाई उर्लाबारीबाटै पक्राउ गरेको जनाइएको छ ।

 

हत्या गरिएका दियुस र हत्यामा संलग्नबीच विगतमा पनि झैँझगडा हुने गरेको अनुसन्धानबाट खुलेको छ। पुरानो रिसिबीकै कारण दियुसको हत्या भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ।