ताप्लेजुङ । ताप्लेजुङका किसानलाई अलैंची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैंची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । महान चाड दसैँ घरमै मनाइए पनि तिहारमा भने धेरै किसानले बगानमै बिताए ।

 

असोजदेखि मङ्सिर महिना अलैंची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएको छ । बेंसी क्षेत्रमा साउन महिनादेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैंची टिपाइ हुन्छ । अहिले अलैंची थन्क्याउन मुख्य मौसम भएकाले किसानलाई चटारो हुने गरेको हो ।

 

अलैँची सङ्कलन गर्ने समय भएपछि केही समय मात्र ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका १ थेचम्बुका अलैंची किसान ज्ञानबहादुर गुरुङले बताए ।

 

अलैंची सिजनका कारण दसैँ, तिहारजस्ता चाडपर्व सहज गरी मनाउन नै नपाएको गुरुङले बताए । मुख्य सिजन भएकाले चाडपर्वमा पनि अलैँची बारी (बगान)मै बिताउनुपरेको फक्ताङलुङ गाउँपालिका ६ मादिबुङका अलैँची किसान बसन्त लिम्बूले बताए । उनले दसैँ घरमै मनाए पनि तिहारमा भने अलैँची बगानमै बिताए ।

 

फुङ्लिङ नगरपालिका ६ बिहीबारेका किसान खाङ्डु शेर्पाले पनि अलैँची टिप्न, छोडाउन र सुकाउनमै तिहार बितेको बताए । घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली जीवजन्तुले धेरै क्षति गर्ने भएकाले चाडपर्व नभनी अलैँची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको शेर्पाले बताए । यी त यस क्षेत्रका केही प्रतिनिधि पात्रमात्र हुन् ।

 

अलैँची खेतीमा सङ्लग्न जिल्लाभरका किसानलाई अहिले अलैंची घर भित्र्याउन भ्याइनभ्याइ भएका छन् । जिल्लाका नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका ७, ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैंची खेती हुन्छ ।

 

जिल्लामा करिब चार हजार चार सय ५० हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिँदै आएको छ । प्रमुख नगदेबाली भएकाले धान, मकैजस्ता खाद्यान्न बाली उत्पादन हुने जग्गा नै मासेर किसानले अलैंची खेती गर्दै आएका छन् ।