फाइल तस्वीर ।

झापा । मुलुकमा अलैंची निर्यात गरेर बर्सेनि सरदर ४ अर्ब रुपैयाँ भित्रिन्छ । अघिल्लो आर्थिक वर्ष ७ अर्ब रुपैयाँ भित्रिएको भन्सार विभागको तथ्यांक छ । तर, अलैंची किसानले पाउने मूल्य भने निरन्तर घट्दो छ । किसान मात्र होइन, अलैंची व्यापारीसमेत आफूहरूले बर्सेनि घाटा बेहोर्नुपरेको बताउँछन् ।

 

कुनै बेला प्रतिमन (४० किलो) को १ लाख २० हजार रुपैयाँसम्म पुगेको अलैंचीको मूल्य यस वर्ष २६ देखि ३२ हजार रुपैयाँमा सीमित छ । यो मूल्यले उत्पादनदेखि बेच्न योग्य हुँदासम्मको खर्च पनि नउठ्ने किसानको भनाइ छ । झन्डै ९ वर्षदेखि अलैंचीको मूल्य घटिरहेको उनीहरू गुनासो गर्छन् ।

 

इलामस्थित रोङ गाउँपालिका सलकपुरका किसान याम अधिकारीको गुनासो पनि यस्तै छ । उनले ०६२/६३ सालदेखि अलैंची उत्पादन थालेका हुन् । अधिकारीले झन्डै १० रोपनीमा रोपेको अलैँची सिँचाइ अभावका कारण बर्सेनि घट्दै गएको छ । सिँचाइ सुविधा पर्याप्त भएको खण्डमा घाटा नहुने उनी बताउँछन् ।

 

अघिल्लो आर्थिक वर्ष मुलुकमा ८ हजार २ सय ८९ टन अलैंची उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांक छ । अलैंची निर्यातको अवस्थामा उतारचढाव नदेखिए पनि किसानले प्राप्त गर्ने मूल्यमा भने व्यापक फरक छ । आर्थिक वर्ष ०७६/७७ सम्म बर्सेनि बढ्दै गएको उत्पादन आर्थिक वर्ष ०७७/७८ मा एक हजार टन नै घटेको छ ।

 

किसानले पाउने मूल्य पनि सोही वर्ष घट्दा ७ अर्ब रुपैयाँ मूल्य बराबरको अलैंची निर्यात भएको विभागको तथ्यांकले देखाउँछ । व्यापारीले ‘होल्ड’ गरेको अलैंची बेच्दा धेरै रकम देखिएको नेपाल अलैंची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष इन्द्रचन्द्र बिडाल बताउँछन् ।

 

नेपाली अलैंचीको मुख्य बजार भारत नै हो । अलैंची उत्पादन ९५ प्रतिशत भारतमा र ५ प्रतिशत मात्रै स्वदेशमा खपत हुन्छ । बन्दरगाह र करका कारण अन्य मुलुकमा निर्यात गर्न नसकिएको व्यवसायी बताउँछन् । भारतमार्फत पाकिस्तान, अफगानिस्तान, बंगलादेशमा स्वदेशी अलैंची निर्यात हुन्छ । अलैंचीको मूल्य बर्सेनि घट्नुमा भारत र भुटानमा उत्पादन बढ्नुसमेत रहेको महासंघका प्रशासकीय अधिकृत अनिल ढुंगानाले जनाए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।