इलाम । एक वर्षदेखि उडान स्थगित भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा इलाम नगरपालिकाको पहलमा आइतबारदेखि पुनः उडान सुचारु भएको छ । नेपाल एयरलाइन्सले आइतबारदेखि सातामा एक दिन काठमाडौं-इलाम र इलाम-काठमाडौं उडान गर्न शुरु गरेको हो ।

 

सातामा एक दिन उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति भएपछि आइतबारबाट उडान शुरु भएको इलाम नगरप्रमुख केदार थापाले जानकारी दिए । इलामबाट काठमाडौंका लागि बिहान साढे ९ बजे उडान हुने तालिका बनाइएको छ ।

 

१९ सिट क्षमताको ट्विनअटर जहाजको उडानको शुरुवातको अवसरमा नेपाल वायु सेवा निगमका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीसहितको टोली काठमाडौँबाट इलाम आएको थियो ।

 

जहाजका क्याप्टेन पेम्बा शेर्पा, रक्षित मल्ल लगायत उडान कर्मचारी र नेपाल वायुसेवा निगम व्यवस्थापन पक्षलाई इलाम नगर प्रमुख थापा, प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गाना विमानस्थल रहेको वडाका अध्यक्ष गोपाल चौहान लगायत जनप्रतिनिधि, स्थानीयबासी, व्यवसायीहरुले फूलमालासहित स्वागत गरेका थिए ।

 

आइतरबारबाट शुरु भएको पहिलो उडानमा ८ जना यात्रु काठमाडौँ गएका थिए । अब हरेक आइतबार काठमाडौँको त्रिभुवन विमानस्थलबाट बिहान साढे ७ बजे इलामको फाल्गुनन्द विमानस्थलका उडान हुने र इलामबाट बिहान साढे ८ बजे काठमाडौँ उडान हुने नेपाल एयरलाइन्स फाल्गुनन्द विमानस्थलका कर्मचारी दिनेश सुन्दासले बताए ।

 

इलामबाट सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले उडान शुरु गरेपछि इलामको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने इलाम नगर प्रमुख थापाले बताए । पर्यटकीय जिल्ला इलाममा हवाई सेवा सुचारु भएकाले नियमित उडानका लागि सबै इलामबासीले सहयोग गर्नुपर्ने नेपाल एयरलाइन्सका कार्यकारी अधिकृत युवराज अधिकारीले बताएका छन् ।

 

फाल्गुनन्द विमानस्थल इलामबाट काठमाडौंको एकतर्फी भाडा ६ हजार ३ सय तोकिएको छ । काठमाडौंबाट इलामका लागि भने एकतर्फी भाडा ६ हजार पाँच सय तोकिएको छ । तर, ज्येष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई विशेष छुटको सुविधा उपलब्ध गरिएको नगरपालिकाले जनाएको छ । एक उडानमा दुई जना ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई करबाहेकको रकममा ५० प्रतिशत भाडा छुट गरिएको छ ।

 

त्यस्तै एक उडानमा दुई जना २५ वर्ष ननाघेका विद्यार्थीलाई परिचयपत्र र उमेर खुल्ने प्रमाणपत्रको आधारमा करबाहेकको रकममा २५ प्रतिशत भाडा छुट गरिएको छ । त्यसैगरी २ वर्षदेखि १२ वर्षसम्मका सबै बालबालिकालाई जन्म दर्ताको आधारमा भाडामा २५ प्रतिशत छुट गरिएको छ । इलाम-काठमाडौं र काठमाडौं-इलाम उडानमा ५० देखि ५५ मिनेट लाग्नेछ ।

 

उक्त विमानस्थलमा गत फागुनमा तारा एयरले इलाम नगरपालिकासँगको सम्झौतामा व्यावसायिक उडान सुरु गरेको थियो । तर, ताराले यात्रु नपाएको भन्दै गत जेठ महिनादेखि एकलौटी रुपमा उडान बन्द गरेपछि विमानस्थल सुनसान थियो । इलाम नगरपालिकाको पहलमा पुनः उडान सुचारु भएपछि जिल्लाबासीहरु हर्षित भएका छन् ।

 

यो विमानस्थलबाट इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने अपेक्षा गरिएको छ । पर्यटकीय क्षेत्र इलाम भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने नगरपालिकाले जनाएको छ ।

 

फाल्गुनन्द विमानस्थल निर्माणको २० वर्षपछि धावन मार्ग कालोपत्रे भएको थियो । विमानस्थल कालोपत्रे सम्पन्न भएपछि नेपाल वायुसेवा निगमको ट्विनअटर विमानले परीक्षण उडान गरेको थियो । इलाममा छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे भएको छ ।

 

२०५८ सालमै विमानस्थल निर्माणको प्रक्रिया थालिएको भए पनि निर्माण प्रक्रिया २०६८ सालबाट भएको थियो । २१ जेठ २०७५ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो । करिब २८ करोड रुपैयाँको खर्चमा पक्की धावनमार्गसहितको विमानस्थल निर्माण गरिएको हो ।