काठमाडौँ । नाबालिगमाथि बलात्कार गरेको अभियोगमा तनहुँ कारागारमा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । जिल्ला न्यायाधीश कमल प्रसाद आचार्यको एकल इजलासले मंगलबार उनीमाथिको मुद्दामा प्रमाण नपुगेको भन्दै सफाइ दिएको हो ।
९ महिनादेखि तनहुँ कारागारमा रहँदै आएका शाह तनहुँ जिल्ला अदालतको फैसलाबाट जेलमुक्त भने हुने छैनन् । ‘पल शाहले जक मुद्दामा तनहुँ जिल्ला अदालतबाट मंगलबार सफाइ पाएको अवस्था छ । जिल्ला न्यायाधीश श्रीमान कमल प्रसाद आचार्यको इजलासले यो फैसला भएको हो’, तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।
उनीमाथि नवलपरासी पूर्व जिल्ला अदालतमा पनि सोही पीडित किशोरीले मुद्दा दायर गरेकी थिइन् ।नवलपरासी जिल्ला अदालतको फैसला अनुसार उनले २ वर्ष कैद र १० लाख क्षतिपूर्तिको सजाय भोगिरहेका छन् । यद्यपि उनी उक्त मुद्दाको फैसलाविरुद्ध पुनरावेदनका लागि उच्च अदालत गएका छन् । इकान्तिपुरबाट