झापा । इलामका प्रेमप्रसाद आचार्यले संसद् सचिवालय अगाडि गरेको आत्मदाहको घटनालाई लिएर बिर्तामोडमा युवाहरुले अनसन र शान्तिपूर्ण र्याली गरेका छन् । त्यस घटनालाई लिएर बिर्तामोड ४ का माधवकुमार झाले मुक्तिचोकमा अनसन थालेका हुन् ।

 

बैंक तथा वित्तीय संस्थाका कारण आत्महत्या गर्न बाध्य बनाउने कर्मचारीलाई छानबिन गरी आत्महत्या दुरुत्साहनको अभियोग तत्काल लगाउनुपर्ने उनले माग गरेका छन् । बिहान ११ बजेदेखि पानी खाने तर अन्न नखानेगरी अनिश्चितकालीन अनसन थालेको उनले बताए ।

 

त्यस्तै बिर्तामोड र मेचीनगरका स्वतन्त्र युवाहरुले शान्तिपूर्ण दवाव र्याली निकालेका छन् । ‘जनता जलिरहेको राज्य आगो तापिरहेको छ, युवा जल्यो व्यवस्थालाई किन पोलेन ?, जलेर मर्नु र मरेर जल्नुमा फरक छ नि सरकार’ जस्ता प्लेकार्डसहित उनीहरुले मुक्तिचोकमा र्याली प्रदर्शन गरेका हुन् ।

 

 

पहिलो चरणमा आफूहरुले शान्तिपूर्ण र्याली गरेको बताउँदै बिर्तामोडकी पुजा कँडेलले यस्ता अन्यायका विरुद्ध अभियानकै रुपमा संचालन गर्ने जानकारी दिइन् ।