बिर्तामोड । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित बिर्तामोडका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका वडा नम्बर ५ का २९ वर्षीय सुरज कुँवर र ३४ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।

 

उनीहरुलाई सोमबार साँझ ५ः२० बजे अस्थायी प्रहरी बिट मेची पुलबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका वडा नम्बर ५ मेची पुलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

 

मे. ६ प ६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा चालक कुँवर र पछाडि सवार श्रेष्ठले उक्त मोटरसाइकलको बाँया साइडको इन्डिकेटरभित्र लुकाइराखेको ४ ग्राम २२ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको सूचना अधिकारी एवं डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।